सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै बस्दै, सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने


काठमाडौं । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बिहानको १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद् अवरोध गरिरहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बिच संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताए । मन्त्रिपरिषद् विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने उनको भनाइ छ । शुक्रबारको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो ।
नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ । यस विषयमा शुक्रबार दिउँसो नेकपा समाजवादी र जसपा निकट कानुनविदबिच छलफल भएको थियो । उनीहरु पनि एउटा निष्कर्षमा पुग्न नसकेको नेकपा समाजवादीका नेता विरोध खतिवडाले बताए ।
नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सकसमा परेका छन् । सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको छ ।
शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका थिए । बालुवाटार स्रोतका अनुसार अध्यादेश किनारा नलागी सरकारमा सहभागी नहुने नीति अख्तियार गरेपछि तत्काललाई मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
साथै मन्त्रालयगत भागबण्डामा पनि सहमति जुटिसकेको छैन । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, सङ्घीय मामिला, स्वास्थ्य मन्त्रालयको विवाद टुंगिएको छैन ।






















