यातायात

ठूला ढुंगा पन्छाएर तुइल खोलाको पहिरोमा ‘नेलिङ’ तयारी

रासस
२०८३ भदौ २८ | मध्यान्ह ०५:०५ बजे

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइल खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुंगा पन्छाएर भीरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो ।

सडक डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक) प्रविधि प्रयोग गरिने जनाएको छ । अहिले तुइल खोलामा माथिबाट खस्ने सम्भावना भएका ठूला ढुंगा काटेर पन्छाउने काम भइरहेको सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेले बताए ।

“सात दिनयता माथिका ठूला ढुंगा काटेर फाल्ने काम भइरहेको छ । अहिले अलि गाह्रो स्थानमा थोरै जनशक्तिले काम गरिरहेका छन्,” उनले भने, “ठूला ढुंगा काटेर पन्छाएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउने तयारीमा छौँ ।”

तुइन खोलामा पहिरो रोकथामको कार्यमा मुख्यतः नेलिङ प्रविधि प्रयोग गरिने उनले जानकारी दिए । स्लोपको प्रकृतिअनुसार टु–डाइमेन्सनल (द्वि–आयामी) र थ्री–डाइमेन्सनल रेट (त्रि–आयामी ढाँचा) प्रयोग गरी बायोइन्जिनियरिङमार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिने उनले बताए ।

अहिले पहिरोको भीर काटेर ढुंगा फाली स्लोप बनाउने काम भइरहेको छ । त्यसपछि उक्त स्थानमा नेलिङ प्रविधि अपनाइने इन्जिनियर लामिछानेले बताए ।

पहिरो जाने क्षेत्रमा जमेको तथा रसाएको पानीले भूगोललाई कमजोर बनाउने हुन्छ । त्यसले पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’को समेत व्यवस्थापन गरिने उनको भनाइ छ । उनले भने, “मुख्य रूपमा यहाँ नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको अवस्था हेरेर डाइमेन्सनल नेट प्रयोग गर्ने र बायोइन्जिनियरिङलाई प्राथमिकता दिने योजना छ ।”

इन्जिनियर लामिछानेले एक महिनाभित्र नेलिङको काम गर्ने तयारीमा रहेको बताए । माथिका ठूला ढुंगा पन्छाएपछि सडक अवरुद्ध हुने अवस्था नआउने उनले उल्लेख गरे ।

उक्त खण्डमा बिहान ८ः३० देखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टाको समयमा आधा घण्टाका निम्ति मात्र सवारी आवागमन खुला गर्ने गरिएको छ । बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन् ।

कमेन्टहरु