देश

सुमारसँग प्रचण्डले भने – `एमसिसी राष्ट्रिय बहसको कुरा भएकाले राष्ट्रिय सहमति बनाउनु पर्छ´

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह १२:०५ बजे

काठमाडौ । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।

प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन् । भेटवार्तामा एमसिसीबारे छलफल भएको थियो । सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए ।

‘राष्ट्रिय बहस भएको कुरामा राष्ट्रिय सहमति बनाउनु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले भने,‘सत्तारूढ गठबन्धनका दलहरूबीच पनि यसबारे सहमति बनाउनु पर्छ।’ माओवादी केन्द्रभित्र एमसिसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गरे पनि हुने दुई धार छ।

यसअघि सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेटवार्ता गरेकि थिइन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने सुमारको कार्यक्रम रहेको छ।

कमेन्टहरु