यातायात

बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा

रासस
२०८३ भदौ २३ | मध्यान्ह ०२:०५ बजे

बाजुरा । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बाजुरास्थित साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । वर्षापछि शनिबार उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको हो । बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडकमा पूर्ण रूपमा यातायात ठप्प भएको थियो ।

आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएर आजदेखि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार, सदरमुकामनजिकै कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का, बिरेखोला लगायतका स्थानमा पहिरो खसेको र लगातारको वर्षाले हटाउन समस्या हुँदा सडक सुचारु गर्न केही ढिलाइ भएको हो ।

सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । कारागार मोडनजिकै सडकमा ठूलो ढुंगा खसेका कारण त्यो पन्छाउन नसक्दा बस र ट्रक लगायतका ठूला सवारीसाधन भने चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, सो ठाउँमा मेसिन लगाएर अहिले मर्मत कार्य भइरहेको छ ।

विद्युत् पनि आजै सञ्चालन हुने 
गत शनिबार रातिको अविरल वर्षापछि पहिरोले विद्युतका ३२ वटा खम्बा ढलेको थियो । जसका कारण बाजुरा जिल्लाभर अवरुद्ध राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा मंगलबार साँझसम्म सुचारु गर्ने गरी काम भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले साँझसम्म ११ केभी विद्युत् लाइन मर्मत गरी सञ्चालनमा ल्याइने जानकारी दिए । त्यस क्षेत्रमा ३३ केभी प्रसारण लाइनका धेरै खम्बा पहिरोले ढलेपछि पुनः सञ्चालन गर्न केही समय लाग्ने देखिएपछि मार्तडीमा आज ११ केभी सुचारु गरिने उनले बताए ।

सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९, सुवाकाँध र ६ को वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार, शनिबार राति करिब ९ बजेदेखि जिल्लाभर बन्द विद्युत् सेवा मर्मतका लागि प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । ढलेका खम्बा सोमबार गाडेर सकिएकाले आज चुडिएका विद्युत् तार जडान गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका अत्यावश्यक सेवा समेत प्रभावित भएको छ ।

कमेन्टहरु