अझै पनि सयौं बेपत्ता छन् केरुङमा, यसरी हुँदैछ खोजीकार्य


काठमाडौं । कुनै समय मान्छेको चहलपहल हुने केरुङ नाका अहिले ढुंगै ढुंगाको थुप्रोमा परिणत भएको छ । हिमपहिरोपछि आएको बाढीले नाका बगाएर ध्वस्त भयो, अहिले त यो अस्तित्वविहीन भएको छ । झट्टा हेर्दा नाका अहिले ढुंगा, ग्राभेल र हिलोले भरिएको चन्द्रमाको कुनै अज्ञात सतहजस्तो देखिन्छ । उद्धारकर्मीहरू अहिले पनि यस क्षेत्रमा बेपत्ताहरूको तीव्र खोजीमा लागिरहेका छन् ।
चीन र नेपालबीच आवतजावत गर्ने पर्यटक तथा व्यापारीका लागि यो सीमा नाका कुनै समय निकै व्यस्त केन्द्र थियो । नेपालतर्फ नदीपारि रहेको रसुवा नाका जाने वा त्यहाँबाट आउने क्रममा दैनिक सयौँ मानिस सामान्यतया यही बाटो भएर हिड्थे । तर अगस्ट २६ को बिहानले सबै कुरा बदलियो ।
हिमपहिरो र त्यसपछि आएको विनाशकारी बाढीको पहिलो प्रहारमा बाढीको ठूलो भेलले नाकालाई कुनै डरलाग्दो राक्षसले झैं निल्यो । त्यसपछि त्यही बाढी नेपालतर्फ विनाश मच्चाउँदै अघि बढ्यो । पानीको भेलले कतिपयलाई बगायो, कतिपय भने ज्यान जोगाउन सकिन्छ कि भनेर भागिरहेको हृदयविदारक दृश्य सीसीटीभीमा कैद देखिएको छ ।
नाकामा अहिलेसम्म एक जना पनि जीवित व्यक्ति फेला परेका छैनन् । घटनाका बेला सीमा जाँच केन्द्रमा आफ्ना आफन्तहरू रहेको विश्वास गर्ने चीन तथा विश्वका विभिन्न स्थानका परिवारहरूका लागि यो ठाउँ अहिले आफ्ना प्रियजनबारे कुनै जानकारी पाउने आशाको केन्द्र बनेको छ । विपद् प्रभावित क्षेत्रमा प्रवेश गर्दा हावामा बाक्लो धुलो र कुहिरो भरिएको थियो । घटनास्थलमा उद्धारमा खटिएका थुप्रै सवारीसाधन थिए र अधिकारीहरू चारैतिर सवारीसाधनको आवतजावत व्यवस्थापन गरिरहेका थिए । पूर्ण रूपमा ध्वस्त भएको सडकलाई आवतजावत गर्न सकिने बनाउन त्यसमा ग्राभेल बिछ्याइएको थियो ।
भग्नावशेषको एउटा थुप्रोमाथि चिनियाँ झण्डा कठोर हावामा फहरिरहेको थियो । पाँचतले विशाल सीमा जाँच भवन त बाढीले बगाइसकेको थियो, भवनको जगका केही अवशेष मात्र बाँकी थिए । घटनास्थलमा सीएनएनसँग कुरा गर्दै उद्धारकर्मी झाङ सियाओजुनले भने, ‘पछि हामीले खन्न सुरु गरेपछि देख्न सक्ने भनेको बाँकी रहेको जग मात्र थियो,’ । ‘त्यसमाथिका सबै संरचना पहिरोले बगाएर लग्यो । यो दृश्य साँच्चै हृदयविदारक थियो । हाम्रा धेरै चिनियाँ साथीहरूले यस विपद्मा आफ्ना अमूल्य जीवन गुमाए,’ झाङले भने ।
कुनै समय ट्राभल एजेन्सी, एउटा सुपरमार्केट र चीन तथा नेपाल जोड्ने पुल रहेको यस क्षेत्रको बाँकी भागमा पनि विनाशको कथा यो भन्दा फरक छैन । ती सबै संरचनालाई बाढीले बगाएर सम्म बनाएको छ । बाढीको साथमा आएको माटो, ढुंगा र पानीको लेदोमा पुरिएका छन् ।
नाकामा को–को प्रभावित भए भन्ने जानकारी बाहिर आउन ढिलो भएको छ । यो अवस्था नेपालको भन्दा फरक देखिन्छ । नेपालमा उद्धार गरिएका वा मृत्यु पुष्टि भएका मानिसहरूको संख्याबारे नियमित रूपमा जानकारी सार्वजनिक भइरहेको छ । करिब दुई दिनअघि चीनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, सीमा क्षेत्रमा चीनतर्फ ३१ जनाको मृत्यु पुष्टि भएको छ भने ५३१ जना बेपत्ता छन् । तिब्बतका स्थानीय अधिकारीहरूले यसै साता दिएको जानकारीअनुसार बेपत्ता हुनेमध्ये २५० भन्दा बढी विदेशी नागरिक छन् ।
चिनियाँ अधिकारीहरूले घटनाका बेला नाकामा रहेका वा आफ्नोतर्फ बेपत्ता भएको विश्वास गरिएका मानिसहरूको नामावली अहिलेसम्म सार्वजनिक गरेका छैनन् । विशेषगरी बेपत्ता आफ्ना प्रियजनको खबरका लागि व्यग्र परिवारहरूले यसले पारदर्शितामाथि प्रश्न उठायन थालेका छन् । बेइजिङले भने आफ्नो दुर्गम विपद् क्षेत्रबाट सूचना प्रवाह खुला र समयमै भइरहेको भन्दै त्यसको बचाउ गरेको छ । आइतबार नाकामामा भइरहेको उद्धार कार्य देखाउनका लागि चीनले सीएनएनसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका करिब एक दर्जन पत्रकारलाई सावधानीपूर्वक तय गरिएको भ्रमणमा बोलाएको थियो ।
यो भ्रमण चीनको विदेश मन्त्रालय र स्टेट काउन्सिल इन्फर्मेसन अफिसले संयुक्त रूपमा आयोजना गरेका हुन् । सीएनएनले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि अधिकारीहरूले तय गरेको भ्रमण कार्यक्रममा सहभागिता जनाए पनि आफ्नो सम्पादकीय नियन्त्रण पूर्ण रूपमा कायम राखेको जनाएको छ । दुवै देशका अधिकारीहरूका अनुसार उक्त विपद्पछि एक हजारभन्दा बढी मानिसको मृत्यु पुष्टि भइसकेको छ भने हजारौँ अझै बेपत्ता छन् । यहाँसम्मको भ्रमणले यो क्षेत्र कति दुर्गम छ भन्ने कुरा र उद्धारकर्मीहरूका लागि घटनास्थलमा पुगेर प्रतिक्रिया जनाउनु कति कठिन थियो भन्ने कुरा स्पष्ट पारेको छ ।
तिब्बतको यो भागसम्म पुग्नु आफैंमा कठिन काम हो । सीएनएनको टोलीले शनिबार तिब्बतको क्षेत्रीय राजधानी ल्हासाबाट नेपाल सीमासँग नजिक रहेको सहर डिङ्ग्रीसम्म करिब आठ घण्टा गाडीमा यात्रा गरेको थियो । त्यस क्रममा १३ हजार फिटसम्मको उचाइ पार गरिएको थियो, जुन करिब ४ किलोमिटर हो । नाकासम्म पुग्न डिङ्ग्रीबाट थप ६ घण्टा लाग्यो । नाकाबाट डिङ्ग्री नै सबैभन्दा नजिकको विमानस्थल रहेको स्थान हो ।
नाकातर्फ जाने साँघुरो दुई लेनको सडक सल्लाका रूखले ढाकिएका पहाड हुँदै अनगिन्ती घुम्ती पार गरेर अघि बढ्छ । विपद् भएको सात दिनपछि मात्र बुधबार यी सडकहरू सफा गरिएका थिए । त्यसपछि मात्रै हजारौँ उद्धारकर्मी र भारी मेसिनरीसहित प्रभावित क्षेत्रमा प्रवेश गर्न सम्भव भएको थियो । त्यसअघि सीमित संख्याका उद्धारकर्मीहरू पैदल हिँडेर वा डुंगा तथा विमानमार्फत त्यहाँ पुगेका थिए ।
विगत ११ दिनको उद्धार प्रयास पनि पहिरो लगायत थप विपद्को जोखिमका कारण कतिपय समयमा सुस्त वा रोकिएको थियो । भग्नावशेष र हिलोले नजिकैको नदीका केही भाग थुनेपछि बनेका नयाँ, तथाकथित अवरोध तालहरू फुट्न सक्ने जोखिम पनि थियो । यी अवस्थाका साथै भारी वर्षा र पहाडी भूभागका कारण कहिलेकाहीँ हवाई मार्गबाट समेत घटनास्थलमा पुग्न कठिन भएको थियो । ‘यस चरणमा हामी मुख्य रूपमा गहन खोजी तथा उद्धार कार्यमा केन्द्रित छौँ,’ बुधबार पहुँच खुलेदेखि घटनास्थलमा काम गरिरहेका झाङले भने ।
‘हाम्रो तरिका भनेको एउटा तह खन्ने, त्यही तहमा खोजी गर्ने र त्यसलाई सफा गरेपछि मात्र अर्को तहमा अघि बढ्ने हो । हामीले धेरै सावधानीपूर्वक खनिरहेका छौँ, पूर्ण रूपमा खोजी गरिरहेका छौँ र भग्नावशेषलाई तह–तहमा हटाइरहेका छौँ, ताकि मृतकहरू फेला पार्न सकिन्छ कि भनेर खोजी गर्न सकियोस्,’ । उनले भने । अधिकारीहरूले नेपालतर्फको लाङटाङ लिरुङ हिमालको हिमनदी आसपास थप भत्किने सम्भावनाबारे पनि चेतावनी दिएका छन् । यही हिमनदी चर्किएर भत्किँदा अगस्ट २६ को पहिरो र बाढी सुरु भएको थियो ।
गत महिनाको यो प्रकोपपछि यस्ता जोखिमको थप निगरानी गर्नुपर्ने देखिएको छ । साथै, जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै र यस्ता घटना अझ अप्रत्याशित बन्दै गएकाले चीन र नेपालबीच सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ । तर अहिले उद्धार र खोजी कार्यमै ध्यान केन्द्रित छ । बेपत्ता व्यक्तिका परिवारहरू आफ्ना प्रियजनको अवस्था र उनीहरूसँग के भयो भन्ने जानकारीको प्रतीक्षामा छन् । तीमध्ये कतिपय त्यो भयानक बिहान केरुङ नाकामा रहेको विश्वास गरिएको छ ।






















