घटना

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

रासस
२०८३ भदौ २० | मध्यान्ह ०४:०५ बजे

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजनाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घटनामा परी इलामका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् । मणिपाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।

शनिबार (भदौ २०) बिहान करिब ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका निम्ति सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका निम्ति मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए ।

सुपर सेती माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।

कमेन्टहरु