आज संसद बैठक बस्दै, संसद हलमा पत्रकारलाई निषेध !


काठमाडौं । भौतिक उपस्थितिमा नै आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । सो बैठकमा रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यहीमार्फत रिपोर्टिङ गर्न सकिने पण्डेले बताए ।
पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि केही पत्रकारलाई मात्र प्रवेश दिने उनको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।
यसअघिको बैठकमा भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए । संसदको मिडिया सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले संघीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै छ ।






















