देश

मेलम्ची आयोजनाको नयाँ भाका आउँदो नयाँ वर्ष

जगत ठाडा मगर
२०७७ कार्तिक १४ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ ।

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना सरकारको छ ।

मेलम्ची आयोजनाको म्याद पटक-पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्नु नौलो विषय हैन । यसपटक पनि दशैंसम्म कठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पुरा भएन ।

खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’

तर, यो आयोजनालाई पनि कोभिड-१९ को कारण देखाएर पछि धकेलियो । २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम हुँदैछ ।

आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तका अनुसार महामारीका कारण असर परे पनि काम रोकिएको थिएन । तर, सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजनालाई फेरि समस्यामा पारेको छ ।

०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक-पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।

आयोजनाको मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । यो आयोजना पनि कोरोनाकै कारण देखाएर अनिश्चयको भुमरीमा धकेलिएको छ ।

कमेन्टहरु