गण्डकी प्रदेशमा आर्थिक वर्षमा १४ प्रतिशत सवारी दुर्घटना र मृत्युदर बढ्यो, सबैभन्दा बढी कास्की र नवलपुरमा दुर्घटना


पोखरा । गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यस क्रममा हुने मृत्युदर बढेको छ । ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा २०८२/०८३ मा झन्डै १४ प्रतिशतका दरले दुर्घटना र करिब ७ प्रतिशतले मृत्युदरमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा ४३५ दुर्घटना हुँदा २५२ जनाको मृत्यु भएको छ । यस्तै ३४७ जना गम्भीर घाइते भएका छन् भने १७९ जना सामान्य घाइते भए ।
आर्थिक वर्ष २०८१/०८२ मा ३८२ वटा दुर्घटनामा २३७ जनाको मृत्यु भएको थियो । यो वर्ष ३०८ जना गम्भीर घाइते हुँदा २२३ जना सामान्य घाइते भए ।
यस्तै आर्थिक वर्ष २०८०/०८१ म ३९५ दुर्घटना हुँदा १७७ जनाले ज्यान गुमाएका थिए भने ३१२ जना गम्भीर घाइते र २५२ जना सामान्य घाइते भए ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कास्की र नवलपुरमा दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा नवलपुरमा ११८ र कास्कीमा ११५ वटा दुर्घटना रेकर्ड गरिएका छन् ।
तनहुँमा ७८, गोरखामा २५ र पर्वतमा २० वटा दुर्घटना भएका छन् । सो वर्ष सबैभन्दा कम मनाङमा २ र मुस्ताङमा ६ वटामात्र दुर्घटना भएका छन् ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर पर्ने गरेका छन् । पछिल्लो वर्ष ३०७ वटा दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । यसैगरी जिप/कार १०५ वटा, ट्रक/ट्याङ्कर ४८ वटा र बस ३९ वटा दुर्घटना भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार अधिकांश सवारी दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेको छ । कुल दुर्घटनामध्ये ३६२ वटा दुर्घटना चालकको कारणले भएका ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
चालकको कारणले भएका दुर्घटनामध्ये २३५ वटा तीव्र गतिका कारण भएका छन् भने मादक पदार्थ सेवन गरेका कारण ६० वटा दुर्घटना भएका छन् । यसबाहेक सडकको अवस्थाका कारण २६, सवारी साधनको यान्त्रिक गडबडीका कारण २२ र सडक प्रयोगकर्ताको त्रुटिका कारण १६ वटा दुर्घटना भएका छन् ।
गण्डकी प्रदेशभर हाल कुल १२ हजार ९२१ किलोमिटर सडक सञ्जाल छ भने ३ लाख ६७ हजार ८५५ वटा सवारी साधन दर्ता भएका छन् । गण्डकीमा दर्ता नभएका सवारी साधन पनि यहाँका सडकमा गुड्छन् । ट्राफिकको दरबन्दी पर्याप्त नभएका कारण सबै दुर्घटनाहरू रेकर्डमा ल्याउन समस्या परेको एसपी काफ्लेले सुनाए ।
‘एक जना ट्राफिक प्रहरीले औसत ६ हजार ९८७ नागरिक, १ हजार ८२ वटा सवारी साधन र ३७ किलोमिटर सडक व्यवस्थापन गर्नुपर्ने चुनौती छ,’ उनले भने, ‘चापको हिसाबले यो सास्तीपूर्ण हो ।’
दुर्घटनाहरू दिनमा भन्दा बढी रातमा हुने गरेका कारणले चुनौती थपिएको छ । दिनभरिको तुलनामा साँझ ६ बजेदेखि राति १२ बजेसम्मको समयमा सबैभन्दा बढी दुर्घटना भएका छन् । तथ्याङ्कको विश्लेषण गर्दा यो अवधिमा मात्रै पूरा दुर्घटनाको झन्डै ४१ प्रतिशत हिस्सा ओगट्छ । पछिल्लो वर्ष १७८ वटा दुर्घटना साँझको ६ बजेदेखि राति १२ बजेको अवधिमा भएको छ ।
‘रात छिप्पिँदै गएपछि भिजिबिलिटी घट्दै जान्छ । रातको समयमा गाडी तुलनात्मक रूपमा तीव्र र लापरबाही पूर्ण हिसाबले चलाउने गरिएको छ,’ एसपी काफ्लेले भने, ‘चालकको अनिन्द्रा र पर्याप्त सडक बत्ती नहुनु पनि दुर्घटनाको प्रमुख कारण हो ।’
कतिपय अवस्थामा सडक प्रयोगकर्तालाई चालकले सहजै देख्न पनि सक्दैनन् । उमेरका हिसाबले पनि सबैभन्दा बढी युवा उमेर सडक दुर्घटनाले नास पारेको छ । २६ देखि ४० वर्ष उमेर समूहका ७८ जनाले दुर्घटनाबाट एकै वर्ष ज्यान गुमाए भने १९१ जना घाइते भए । युवा समूह दुर्घटनाको उच्च जोखिममा रहेको प्रहरीको ट्र्याकिङले देखाएको छ । यस्तै, ४१ देखि ६५ उमेर समूहका पनि ७६ जनाले ज्यान गुमाएका छन् भने १३० जना घाइते भएका छन् ।
१७ देखि २५ वर्ष उमेर समूहका ४७ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन् । तुलनात्मक रूपमा ६६ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकाहरुमा दुर्घटनाबाट हुने क्षति कम देखिएको छ । ६६ वर्षमाथिका ३१ जनाको ज्यान गएको छ भने १६ वर्षभन्दा कम उमेरका २० जनाको ज्यान सवारी दुर्घटनाबाट गुमेको छ । यसलाई न्यूनीकरण गर्न सडकको स्तरोन्नतिसँगै पैदलयात्रीमैत्री पूर्वाधार र प्रविधिमा बढी जोड दिनुपर्ने काफ्लेको सुझाव छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नेहरू पनि बढ्दो क्रममै छन् । गत वर्षको ११ महिनामा १ लाख ६० हजार ७९४ वटा सवारीलाई कारबाही गरिएको छ । यसबाट १४ करोड ३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्री बोक्ने र तीव्र गतिमा चलाउने सवारी साधनलाई कारबाही गरिएको छ । प्रहरीले जनचेतना अभिवृद्धिका काम गरिरहेको त छ तर, पर्याप्त नभएको उनले सुनाए । मुख्य सडकहरूमा स्मार्ट एएनपीआर (नम्बर प्लेट पहिचान गर्ने प्रणाली), सिसीक्यामेरा विस्तार र राजमार्गमा स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिदिन सरकार समक्ष उनले सुझाव दिएका छन् ।






















