चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित


नारायणगढ । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ ।
जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ । दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। केसीले पर्षात्मा डेङ्गुको सङ्क्रमण बढ्न सक्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको हो ।
इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको जानकारी दिँदै उनले अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधिलगायतको टोली अभियानमा सहभागी भएका छन् । उनीहरूले डेङ्गुबारे सचेतना फैलाउने तथा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने काममा जुटेको उनले बताए ।
यो समय डेङ्गुको मुख्य सिजन भएकाले सङ्क्रमणबाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गरे । घरआँगन तथा वरपरका झाडी, टायर, गमलालगायत पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्नुपर्ने उनको भनाइ छ ।
स्क्रब टाइफस पनि यही समयमा बढी सक्रिय हुने भएकाले घरवरपर झाडी नराख्ने, सरसफाइ गर्ने तथा घाँस काट्न, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन उनले सुझाव दिए। झाडी तथा घाँस काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउने र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए ।
वर्षायामसँगै डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन उनले आग्रह गरे ।
यस्तो छ विवरण
गत आर्थिक वर्ष २०८२/८३ मा भने चितवनमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित उल्लेख्य सङ्ख्यामा भेटिएका थिए । कार्यालयको तथ्याङ्कअनुसार आवको अन्त्यसम्म चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गुका २७४ र स्क्रब टाइफसका ८९३ सङ्क्रमित अभिलेखमा रहेका थिए ।
स्थानीय तहअनुसार गत आवमा सबैभन्दा बढी सङ्क्रमित रत्ननगर नगरपालिकामा ८७, भरतपुर महानगरपालिकामा ५६ र खैरहनी नगरपालिकामा ३५ जना रहेका थिए । स्क्रब टाइफसका सङ्क्रमित पनि रत्ननगर नगरपालिकामा सबैभन्दा बढी २४६, खैरहनी नगरपालिकामा ११७ र भरतपुर महानगरपालिकामा ९० जना रहेका थिए ।
गत आवमा डेङ्गु १० हजार ५२३ जना र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो । उक्त अवधिमा पनि डेङ्गु र स्क्रब टाइफसका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ ।






















