युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु


काठमाडाैँ । युगान्डामा यात्रु बोकेको ट्याक्सी भ्यान र बालुवा बोकेको ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनापछि ट्रक चालक फरार भएकाले प्रहरीले उनको खोजीलाई तीव्र पारेको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना सोमबार राति कालुङ्गु जिल्लाको कामुङ्गा ट्रेडिङ सेन्टरस्थित राजमार्गमा भएको हो । मृत्यु हुने सबै यात्रु ट्याक्सीका यात्रु रहेका छन् । घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
युगान्डासहित अफ्रिकाका धेरै मुलुकमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ । जीर्ण अवस्थामा रहेका सवारीसाधन, तीव्र गति र सडकको कमजोर अवस्थालाई यस्ता दुर्घटनाका प्रमुख कारण मानिन्छ ।
गत जुलाईमा पनि पूर्वी युगान्डामा शैक्षिक भ्रमणबाट फर्किरहेको प्राथमिक विद्यालयको बस सडकबाट खस्दा कम्तीमा २० बालबालिका र एक वयस्कको मृत्यु भएको थियो।






















