भारतको केन्द्रीय बैंकले ब्याजदर यथावत् राख्ने संकेत


मुम्बई । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले यस साताको मौद्रिक नीति बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना रहेको छ। विश्वका धेरै केन्द्रीय बैंकहरूले बढ्दो मुद्रास्फीतिका कारण ब्याजदर बढाइरहेका बेला भारतले भने फरक नीति अपनाउने संकेत देखिएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको सर्वेक्षणअनुसार ७२ जना अर्थशास्त्रीमध्ये ६८ जनाले आरबीआईको मौद्रिक नीति समितिले बुधबार हुने बैठकमा ब्याजदर परिवर्तन नगर्ने अनुमान गरेका छन्। यद्यपि, आगामी दिनमा मुद्रास्फीतिको जोखिम बढ्न सक्ने भएकाले केन्द्रीय बैंकले केही कडा (हकिस) नीतिगत संकेत गर्न सक्ने अपेक्षा गरिएको छ।
सिटी बैंकका प्रमुख भारतीय अर्थशास्त्री समिरन चक्रवर्तीका अनुसार कोर मुद्रास्फीति निरन्तर ४ दशमलव ५ प्रतिशतभन्दा माथि नपुगेसम्म सन् २०२६ भित्र ब्याजदर बढ्ने सम्भावना कम छ।
इन्धनको मूल्य बढे पनि प्रभाव सीमित
आरबीआईका गभर्नर सञ्जय मल्होत्राले हालै दिएको एक अन्तर्वार्तामा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे पनि त्यसको प्रभाव समग्र मुद्रास्फीतिमा हालसम्म सीमित रहेको बताएका छन्। तर, केन्द्रीय बैंकको सर्वेक्षणले भविष्यमा मूल्यवृद्धिको अपेक्षा बढ्दै गएको देखाएको छ। साथै, जुन महिनामा थोक मूल्य सूचकाङ्क ९ दशमलव ८७ प्रतिशत पुगेकाले आगामी महिनामा खुद्रा मुद्रास्फीतिमा पनि दबाब पर्न सक्ने संकेत देखिएको छ।
अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। त्यसको प्रभाव नियन्त्रण गर्न युरोप, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स, सिङ्गापुर, दक्षिण कोरिया र दक्षिण अफ्रिकालगायतका देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाइसकेका छन्। तर अमेरिकी फेडरल रिजर्भ, जापानको केन्द्रीय बैंक र भारतको आरबीआईले भने हालसम्म ब्याजदर यथावत् राखेका छन्।





















