धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज गर्नुपर्छ : कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धर्म निरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् ।
मकवानपुर क्षेत्र नं २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन समारोहमा बोल्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए । साथै शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नु जरुरी रहेको बताए ।
मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने बताए । राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ उन्मुख भएको थापाको भनाइ छ ।
करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्याउन्न कमाउनेतर्फ मात्रै केन्द्रित भएको भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने बताए । फरक प्रसङ्गमा दार्चुलाका जयसिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको बताए ।
राप्रपा कार्य सम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त, नीति बिचार कमजोर बनाउने षडयन्त्रप्रति कार्यकर्ता चनाखो हुनुपर्ने बताए । उनले भ्रमलाई चिरेर पार्टी र विचार स्थापना गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गरे।






















