विर्तामोडमा आगलागी हुँदा तीन घर पूर्ण नष्ट, तीन घरमा आंशिक क्षति


झापा। झापाको विर्तामोड नगरपालिका–५ स्थित पुरानो भद्रपुर रोडमा बिहान भीषण आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटा घरमा आंशिक क्षति पुगेको छ। बिहान करिब ०४:१५ बजे स्थानीय गणेश पोखरेलको काठको दुई तले घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बुझिएको छ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा १० जनाको प्रहरी टोली र शनिश्चरे बेसक्याम्पबाट सशस्त्र प्रहरी नायब निरीक्षक सोबित श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। प्रहरी, विर्तामोड, भद्रपुर तथा मेचीनगर नगरपालिकाका दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा बिहान ०५:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
क्षतिको विवरण:
गणेश पोखरेल: टिनको छानो भएको काठको २ तले घर पूर्ण रूपमा जलेर नष्ट।
तारा अर्याल: टिनको छानो भएको १ तले घर पूर्ण रूपमा जलेर नष्ट।
सुन्दर राजवंशी: टिनको छानो भएको १ तले घर पूर्ण रूपमा जलेर नष्ट।
भरत पोखरेल: टिनको छानो भएको १ तले घरमा आंशिक क्षति।
सारदा राजवंशी: २ तले पक्की घरमा आंशिक क्षति।
दिपेन्द्र कुमार ओली: २ तले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति।
उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ।





















