यातायात

नागढुंगा सुरुङको भोलि उद्घाटन, आकस्मिक सवारी मात्र गुड्न पाउने

एजेन्सी
२०८३ साउन १० | बिहान १०:०४ बजे

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमबारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि, सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब ५ दशमलव ५ किलोमिटर पुग्छ ।

“इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित भित्रको कुल सुरुङ लम्बाइ करिब ५.५ किलोमिटर छ । कुल लागत भेरिएसनसहित करिव १९ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ,” उनले भने ।

जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ देखि यस आयोजनाको निर्माण सुरु गरेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ ।

उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ । महानिर्देशक जैसीले सुरुङमार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने जानकारी दिए ।

“उद्घाटनलगत्तै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न दिइनेछ । त्यसपछि मक ड्रिल गरेर सुरक्षासम्बन्धी सबै प्रणाली परीक्षण गरिनेछ,” उनले भने, “जेट फ्यानलगायत प्रणाली सिङ्क्रोनाइज गरेपछि चरणबद्ध रूपमा सवारी सञ्चालन गरिन्छ र करिव एक महिनापछि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।”

उनकाअनुसार उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमूना अभ्यास) गरिनेछ । उक्त अभ्यास सफल भएपछि करिब एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ ।

सो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिब एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ ।

यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने गुड्न निषेध गरिएको छ । “सुरुङमार्गमा मोटरसाइकल तथा विस्फोटक वा प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । अन्य सवारीसाधन भने सञ्चालन गर्न सक्नेछन्,” उनले भने ।

विगतमा ‘बिल अफ क्वान्टिटी’ (बीओक्यू) मोडालिटीमा आधारित रही सडक विभाग आफैँले डिजाइन र सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिएर यो आयोजना अघि बढाएको थियो ।

“सिस्नेखोलाबाट माथिको उकालो र पहिरोको जोखिम कम गर्न अध्ययनपछि यो सुरुङ सुरु गरिएको हो,” उनले भने, “निर्माणका क्रममा प्राविधिक चुनौती र स्थानीय तहका केही अन्योल भएपनि सबै चुनौती पार गर्दै अहिले उद्घाटनको चरणमा पुगेको छ ।”

प्राविधिक चुनौती र स्थानीय तहमा रहेका अन्योललाई चिर्दै निर्माण सम्पन्न भएको यस आयोजनाले नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको महानिर्देशक जैसीले बताए ।

कमेन्टहरु