पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

रासस
२०८३ साउन ४ | मध्यान्ह १२:०४ बजे

चितवन, साउन ४। पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।
स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो । गए रातिबाट रोकिएका सवारीसाधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ ।






















