प्रदेश २ सरकारले राजस्वको दायरा बढायो, अब बैंक धितोबाट पनि राजस्व असुल गर्ने


जनकपुर । प्रदेश २ सरकारले राजस्वको दायरा बढाएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण लिन राखिने धितोबाट पनि प्रदेश सरकारले राजस्व संकलन गर्ने निर्णय गरेको छ ।
सोमबार प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री शैलेन्द्र साहले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि राखिने धितो मूल्याकंनको समेत राजस्व असुल गर्ने टिप्पणीमा हस्ताक्षर गरेका छन् । संघीय सरकारको परिपत्रअनुसार नै प्रदेश सरकारले बैंक तथा वित्तीय संस्थाबाट धितो मूल्यांकनको राजस्व असुली गर्ने निर्णय अगाडि बढाइएको हो ।
‘प्रदेश २ सरकारले राजस्व संकलनको एउटा नयाँ क्षेत्र पहिचान गरेको छ,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशिराज दाहालले भने,‘बैंक तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको समेत राजस्व लिने र पहिले राखिएको धितो मूल्यांकनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय गरेको छ ।’
ऋण बढोत्तरी हुँदा धित्तो मूल्यांकनको रकमबाट थप राजस्व उठाउन सक्ने भएकाले प्रदेश सरकारको सञ्चित कोषमा बढोत्तरी हुने उनको भनाइ छ । उनले भने ‘चालु आर्थिक वर्षका लागि गरिएको यो निर्णयबाट सेवाग्राहीलाई अघिल्लोपटक ऋण लिदा धित्तो मूल्यांकनबापतको राजस्व रकम फिर्ता हुनेछ,’।
‘वित्तीय अनुशासन र जवाफदेहीतामा दृढ’
मन्त्री साहले वित्तीय व्यवस्थापनमा अनुशासन र जवाफदेहिता आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । उनले सुशासन र प्रादेशिक समृद्धिको औजारको रूपमा वित्तीय व्यवस्थापनमा अनुशासन र जवाफदेहितालाई लागू गर्न आफू दृढ रहेको बताए ।
‘सार्वजनिक खर्च र वित्तीय जवाफदेहिताका आधारहरूलाई कडाइका साथ लागू गरिनेछ,’ पदभार सम्हालेपछि मन्त्री साहले भने, ‘यसका लागि प्रदेश सरकारका इकाइहरूको कार्यक्षमता अभिवृद्धिमा मेरो जोड रहनेछ ।’
‘लकडाउनले प्रदेशका थला परेका क्षेत्रलाई पुनर्जीवन र निरन्तरता दिन स्रोत, पहल र समय खर्चेर नतिजामुखी काम गर्नेछु,’ उनले भने । शाहले प्रदेशको अर्थतन्त्र कृषि योजनाको कार्यान्वयनबाट मात्र सम्भव रहेको बताए ।






















