बर्दघाटमा जनसहभागितामा सडक कालोपत्रे : उद्घाटन कार्यक्रमप्रति आलोचना


नवलपरासी , असार २० गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित हरियाली टोलका स्थानीय बासिन्दाहरूले आफ्नै सक्रियता र लगानीमा सडक कालोपत्रे गरेका छन्। स्थानीय उपभोक्ताहरूको उत्साहजनक लागत साझेदारीमा र नगरपालिकाको “संयुक्त लगानीमा उक्त सडक खण्डको कालोपत्रे कार्य सम्पन्न भएको हो ।
सडक निर्माणका लागि ६० घरपरिवारले आपसी समन्वय गरी उपभोक्ता समिति मार्फत कुल ६ लाख ५० हजार रुपैयाँ रकम संकलन गरेका थिए । स्थानीय उपभोक्ताहरूको सक्रियतामा वडा कार्यालय तथा नगरपालिका सँगको लागत साझेदारी र समन्वयमा यो कार्य सम्पन्न भएको हो । आफ्नो टोलको सडक आफैं बनाउनुपर्छ भन्ने भावनाका साथ ६० घरधुरीले स्वतःस्फूर्त रूपमा रकम उठाएर सडकको मुहार फेरेपछि स्थानीयहरू निकै उत्साहित बनेका छन्।
उद्घाटन कार्यक्रमप्रति जनप्रतिनिधिहरूको आलोचना र फरक मत
निर्माण कार्य सम्पन्न भई आयोजना गरिएको कालोपत्रे सडक उद्घाटन कार्यक्रमलाई लिएर नगरका जनप्रतिनिधिहरूबीच स्पष्ट मतभेद र आलोचना भएको छ।
८ वटा बाटो कहाँ-कहाँ उद्घाटन गर्न जाने? : वडा अध्यक्ष तिवारी
बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वेद बिना तिवारीले उद्घाटन कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउनुभएको छ। उहाँले भन्नुभयो, “आफ्नो वडामा लागत साझेदारीमा धेरै वटा बाटोहरू बनेका छन्, कहाँ-कहाँ उद्घाटन गर्न जाने? त्यो कुरा ठीक होइन। जनताले लगानी गरेर बनाएको बाटो सडक उद्घाटन गर्नु कुनै ठूलो कुरा होइन।”
उद्घाटनमा फजुल खर्च गर्नु उचित भएन: कार्यपालिका सदस्य ढकाल
त्यस्तै, कार्यपालिका सदस्य सुमित्रा ढकालले पनि जनताको प्रत्यक्ष लागत साझेदारीमा बनेको बाटोको उद्घाटन कार्यक्रममा फजुल खर्च गर्नु न्यायसंगत नभएको बताउनुभयो । उहाँले जनताको पसिना र मेहनतबाट संकलित रकम विकासकै काममा सदुपयोग हुनुपर्ने र उद्घाटनका नाममा हुने भड्किलो खर्चलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।
स्थानीयले बोलाएपछि सहजै उद्घाटन गरिएको हो: नगर प्रमुख श्रेष्ठ
यता, उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने आलोचनाको बचाउ गर्नुभएको छ। नगर प्रमुख श्रेष्ठले उपभोक्ता समिति बोलाएर उद्घाटन गर्न भनेकाले आफू सहभागी भई सहजै रूपमा उद्घाटन गरिएको प्रतिक्रिया दिनुभयो।
नगर प्रमुख श्रेष्ठले जनताले आफ्नै खल्तीबाट रकम उठाएर नगरको विकासमा जुट्दा पनि सम्बन्धित वडाका जनप्रतिनिधिहरू उद्घाटन कार्यक्रममा सहभागी नहुनु दुःखद भएको भन्दै चासो व्यक्त गर्नुभएको थियो।
जनप्रतिनिधिहरूबीच उद्घाटन र खर्चलाई लिएर विवाद देखिए तापनि स्थानीय बासिन्दाहरूले भने वडा कार्यालय र नगरपालिकाको प्राविधिक तथा प्रशासनिक सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले आगामी दिनमा पनि टोलको विकासका लागि यसैगरी एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
























