बाढी/पहिरो

बाँकेमा दर्जनौँ घर डुबानमा

नवलपुर टुडे
२०८३ असार १७ | बिहान ०८:०३ बजे
गणेश विशु
बाँके । मंगलबार बिहान जानकी गाउँपालिका–६, पिप्रहवाकी नलकलावती लोनीयाको निद्रा पानीको छपक्क आवाजले खुल्यो। घरभित्र चिसो पानी पसिसकेको थियो। केही बेरअघि मात्र सामान्य देखिएको आँगन अचानक पोखरीजस्तै बन्यो। घरभित्र रहेका सामान बचाउने कि परिवारलाई सुरक्षित स्थानमा लैजाने भन्ने अन्योलबिच उनी दौडधुपमा थिइन्।

उतै उनका श्रीमान् रामदास लोनीया खटियामै सुतिरहेका थिए। बिउँझिँदा खाटसम्म पानी आइपुगेको रहेछ । पानीसँगै एउटा सर्प पनि खाटतर्फ उक्लँदै गरेको उनले देखे । झसङ्ग भएर उठेका उनले तत्काल सर्पलाई भगाए। त्यसपछि दुवैजना हतार हतार घरबाहिर निस्किए। केही बेरमै घरभित्र राखिएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा र अन्य दैनिक उपभोगका सामान पानीमा डुबिसकेका थिए।

‘हरेक वर्ष बर्खा लागेपछि हाम्रो अवस्था यही हुन्छ,’ रामदासले दुःख पोख्दै भने, ‘रातभर पानी परेपछि बिहान घरभित्रै खोला बगेजस्तो हुन्छ। कति बेला सर्प आउँछ, कति बेला घर भत्किन्छ भन्ने डरमै बस्नुपर्छ।’

पिप्रहवा गाउँ सुर्खेत रोडसँगै जोडिएको बस्ती हो। सडकसँगै रहेको भए पनि यहाँको सबैभन्दा ठुलो समस्या भनेको वर्षौँदेखिको ढल निकास अभाव हो। गाउँभित्रको पानी मात्र होइन, वरपरका नाली र सडकको पानीसमेत यही क्षेत्रमा जम्मा हुने भएकाले सामान्य वर्षामै बस्ती डुबानमा पर्छ।

स्थानीयका अनुसार पानी निकासको स्थायी व्यवस्था नहुँदा बर्सेनि उस्तै सास्ती दोहोरिने गरेको छ। नलकलावती लोनीयाले घरभित्र पानी पस्न थालेपछि बालबालिकालाई सुरक्षित स्थानमा पुर्याउन सबैभन्दा ठुलो चिन्ता भएको बताइन्।

‘घरमा भएको अन्न सबै भिज्यो। ओछ्यान भिज्यो। लगाउने कपडा पनि पानीमै डुब्यो,’ उनले भनिन्, ‘हामी गरिब मान्छे, हरेक वर्ष यही क्षति बेहोर्दा फेरि उठ्न निकै गाह्रो हुन्छ।’

मंगलबार बिहान परेको अविरल वर्षाले पिप्रहवा मात्र होइन, बाँकेका विभिन्न स्थान जलमग्न भए । नेपालगन्ज, कोहलपुर, जानकी, डुडुवालगायतका क्षेत्रका सडक, चोक र बस्तीमा पानी जम्यो। कतिपय ठाउँमा सडक नै नदेखिने गरी पानी भरिएपछि सवारी आवागमन प्रभावित भयो भने पैदल यात्रुहरूलाई समेत आवतजावत गर्न कठिन भयो।

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सहरी तथा बजार क्षेत्रमा समेत पानी निकास नहुँदा सडकहरू तालजस्तै देखिए। पसल अगाडि पानी जमेकाले व्यवसायीहरूले सामान जोगाउन हम्मेहम्मे पर्यो। कतिपय पसलभित्र पनि पानी पस्दा व्यापारिक सामग्रीमा क्षति पुगेको स्थानीयले बताएका छन्।

स्थानीयवासीका अनुसार वर्षा मात्र डुबानको कारण होइन। समयमै नाली सफा नगर्नु, कतिपय स्थानमा नाली नै साँघुरो हुनु र निर्माण भएका ढलहरू नियमित मर्मत नहुनु पनि मुख्य समस्या बनेको छ।

वर्षायाम सुरु हुनुअघि नै नाली सफा गर्ने काम प्रभावकारी रूपमा हुन नसक्दा सामान्यभन्दा केही बढी वर्षा भए पनि पानीले निकास पाउन सकेन। पिप्रहवाका बासिन्दा भन्छन्, ‘समस्या नयाँ होइन। वर्षौँदेखि स्थानीय सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराइए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।’

अस्थायी रूपमा खाल्डाखुल्डी पुर्ने, केही नाली सफा गर्ने जस्ता काम भए पनि पानी निकासको समग्र योजना नबनेकाले हरेक मनसुनमा उही पीडा दोहोरिन्छ।

रामदास र नलकलावतीजस्ता सयौँ परिवार अहिले फेरि घर सुकाउने, भिजेको अन्न छुट्याउने र दैनिक जीवन सामान्य बनाउने सङ्घर्षमा छन्। उनीहरूलाई प्राकृतिक विपत्तिभन्दा बढी चिन्ता वर्षौँदेखि बेवास्ता हुँदै आएको पूर्वाधारको अभावले दिएको छ।

मनसुन अझै सुरुको चरणमै छ। मौसमविद्हरूले आगामी दिनमा थप वर्षा हुने सम्भावना औँल्याइरहेका छन्। यस्तो अवस्थामा पिप्रहवालगायत डुबान प्रभावित बस्तीका नागरिक फेरि अर्को वर्षाको प्रतीक्षामा होइन, अर्को संकटको प्रतीक्षामा बस्न बाध्य छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाँकेमा यस आर्थिक वर्ष पनि करिब १४ हजार २४३ घरधुरी र ६८ हजार ६४७ जना बाढी तथा डुबानको उच्च जोखिममा छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा बाढी तथा डुबानका कारण ३१ जनाको मृत्यु, ७२ जना घाइते र ३९ हजारभन्दा बढी घरधुरी प्रभावित भएका छन्।

आर्थिक वर्ष २०७४/७५ मा भएको थियो, जहाँ १६ हजार ८५९ घरधुरी प्रभावित भएका थिए भने  ८ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७१/७२ मा १२ हजार ३४० घरधुरी प्रभावित हुनुका साथै १५ जनाको मृत्यु र २५ जना घाइते भएका थिए।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार २०६४/०६५ मा ७ जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए। त्यस्तै त्यति बेला ८ हजार १ सय ७१ घरमा क्षति पुगेको तथ्यांक छ। आर्थिक वर्ष २०७८/०७९ मा एक जनाको मृत्यु भएको बताइएको छ।

कमेन्टहरु