अब डिजिटल दक्षिणा, बैंकहरुले ल्याए आकर्षक योजना


काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ ।
नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनु पर्छ भन्ने वहस विगतका वर्षहरुमा हुँदै आए पनि शुरुवात भने भएको थिएन । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष भने यो वहस कार्यान्वयनको चरणमा जाने पक्का भएको छ ।
केही बैंकले डिजिटल दसैँको फ्रेमवर्क बनाएका छन् । बैंकहरुले दसैँमा डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक उपहार नै दिने घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकको आर्थिक नीति तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बैंकहरुले पछिल्लो समय ल्याएका नीतिले डिजिटल दक्षिणालाई प्रवर्द्धन गर्ने बताउँछन् ।
डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षा पनि हुने उनको भनाइ छ । हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्नका लागि मात्रै निकै ठूलो धनराशी खर्च हुने गरेको छ । केन्द्रीय बैंकले निकै ठूलो रकम खर्चिएर नयाँ नोट छपाउने गरेको छ । डिजिटल दक्षिणा कार्यान्वयनमा आएपछि यस्तो खर्च नहुने भट्ट बताउँछन् ।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेल अब आर्थिक कारोबारहरु डिजिटल हुनु पर्ने बताउँछन् । दसैँमा पनि डिजिटल दक्षिणाको शुरुवात हुनु सबैका लागि राम्रो हुने उनले बताए । नेपाली संस्कार अलि फरक भएका कारण दक्षिणा नै डिजिटल बनउनका लागि भने केही समय लाग्ने उनी बताउँछन् ।























