देश

वाग्मतीको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

जगत ठाडा मगर
२०७८ भदौ १५ | मध्यान्ह ०५:०५ बजे

हेटौडा । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एकीकृत समाजवादी पार्टीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले विभाजित भएर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

एमालेका १२ सांसदले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेका हुन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्‍यो ।’

यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भने, ‘पार्टीले मलाई नै अगाडि सारेको छु। सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’

कमेन्टहरु