स्वास्थ्य

रेबिज विरुद्ध जनचेतना फैलाउन वडा अध्यक्ष कुशवाहाको आग्रह

दिपेश कुमार शाह
२०८३ असार १६ | मध्यान्ह ०२:०३ बजे

रौतहट । कटहरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा मेयर उम्मेदवार चन्दन कुमार कुशवाहाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष (लाइभ) प्रसारण गर्दै रेबिज रोगको बढ्दो जोखिमप्रति सम्पूर्ण नगरवासी, जिल्लावासी तथा देशवासीलाई सचेत रहन आग्रह गर्नुभएको छ।

उहाँले हाल अत्यधिक गर्मीका कारण कुकुरको टोकाइका घटनाहरू बढिरहेको र रेबिजविरुद्धको एण्टि–रेबिज भ्याक्सिन (ARV) देशका धेरै सरकारी अस्पतालहरूमा अभाव भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यस्तो अवस्थामा अभिभावकहरूले आफ्ना बालबालिकालाई विशेष निगरानीमा राख्न, सडक तथा छाडा कुकुरबाट टाढा राख्न र कुनै जनावरले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो।

उहाँले पछिल्लो समय रेबिजका कारण केही बालबालिकाको मृत्यु भएको दुःखद समाचार सार्वजनिक भइरहेको उल्लेख गर्दै यसलाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। साथै, रेबिजविरुद्धको भ्याक्सिनको अभाव तत्काल समाधान गरी देशभर पर्याप्त उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।

“जनताको जीवन रक्षा सबैभन्दा ठूलो दायित्व हो। समयमै सावधानी अपनाऔँ, आफ्ना बालबालिकालाई सुरक्षित राखौँ र रेबिजजस्तो घातक रोगबाट बचौँ,” भन्दै चन्दन कुमार कुशवाहाले सबैमा जनचेतना फैलाउन अनुरोध गर्नुभएको छ।

कमेन्टहरु