बाढी/पहिरो

इटहरीबासीलाई बाढीको त्रास: खोला हेर्दै रातभर जाग्राम

नवलपुर टुडे
२०८३ असार १६ | बिहान ०६:०३ बजे
अमर खड्का

इटहरी । इटहरी उपमहानगरपालिकाका नागरिकले नौ वर्षअघि आएको विनाशकारी बाढीको पीडा अझै बिर्सन सकेका छैनन्। मध्य असार लागेसँगै पानी पर्न थालेपछि इटहरीका बासिन्दामा फेरि पुरानै त्रास फर्किएको छ। वर्षा सुरु हुनासाथ धेरै परिवार रातभर जाग्राम बसेर खोलाको सतह निगरानी गर्न बाध्य छन्।

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँकी रामवती साह बर्खायाम आफूहरूका लागि निद्रा हराउने मौसम बनेको बताउँछिन्।

‘पानी परेपछि रातभरि टर्च बालेर खोलाको अवस्था हेर्छौं,’ उनले भनिन्, ‘धेरैजसो पानी परेको रात गाउँ नै जाग्राम बस्छ।’

उनको घर खोलानजिकै छ। पहाडी क्षेत्रमा लगातार वर्षा हुन थालेपछि आफ्नो बस्तीसम्म बाढी आइपुग्ने गरेको उनी बताउँछिन्। २०७४ सालको बाढी सम्झिँदै उनले भनिन्, ‘राति सुतेको बेला घरभित्र पानी पसेपछि मात्रै थाहा पायौं। शरीरमा लगाएको लुगाबाहेक केही पनि निकाल्न पाइएन।’

त्यो घटना सम्झँदै उनले परिवारका सदस्यहरू ज्यान जोगाएर बाहिर निस्कन सफल भएको बताइन्। अहिले पनि पानी बढ्न थाले घरअगाडिको बाटोसम्म पुगेपछि उनी गाउँ छाडेर सडकतिर जाने गर्छिन्।

‘गरीब मान्छेलाई अन्त जाने उपाय पनि छैन,’ उनले भनिन्, ‘बर्खाभरि ढुक्कसँग सुत्न पाइँदैन।’

तीनै तहका सरकारप्रति सुरुवाती आशा रहे पनि अहिले त्यो विश्वास कमजोर भएको उनीहरूको गुनासो छ।

‘स्थानीय सरकार बनेपछि केही सुधार होला भन्ने लागेको थियो,’ रामवती भन्छिन्, ‘तर अहिलेसम्म कुनै सरकारले स्थायी समाधान गरेन।’

स्थानीयमा अर्को चिन्ता पनि छ । अन्य ठाउँमा जस्तै बस्ती हटाउने नीति लागू भए झन् संकट बढ्ने उनीहरूको डर छ।

रामवतीजस्तै इटहरी–४ कै कविता ऋषिदेव पनि वर्षाको समयमा घरभन्दा सुरक्षित स्थान रोज्ने गरेको बताउँछिन्।

‘घरअगाडिको बाटोमा पानी देखिनेबित्तिकै माथिल्लो भागतिर लाग्छु,’ उनले भनिन्, ‘पहाडमा लगातार पानी पर्न थालेपछि खतरा बढिहाल्छ।’

स्थानीय गुञ्जबहादुर लिम्बुका अनुसार बुढी खोला नदीको सतह बढेर डिलसम्म पुगेपछि गाउँलेहरू सुरक्षित स्थान खोज्न थाल्छन्।

‘सबै भगवान भरोसामा छ,’ उनले भने, ‘कहिले के हुन्छ भन्ने टुंगो हुँदैन। सरकारले व्यवस्थित तटबन्ध बनाइदिए धेरै समस्या घट्थ्यो।’

बाढीको इतिहास : दोहोरिएको पीडा

२०७४ साउन २७ गते राति आएको बाढीले इटहरीका वडा नम्बर ३, ४, ९ र १० को बुढी खोला आसपासको क्षेत्र तहसनहस बनाएको थियो। वडा नम्बर ४ को गैरीगाउँ त पूर्ण रूपमा डुबानमा परेको थियो।

त्यो बाढीमा नौ जनाको ज्यान गएको थियो। त्यसपछि २०७८ सालमा आएको बेमौसमी बाढीले थप चार जनाको मृत्यु गराएको थियो। अन्नबाली, घर तथा पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।

इटहरीमा अहिले सामान्य वर्षाले समेत डुबान निम्त्याउने अवस्था बनेको छ। पछिल्लो समय खेतीयोग्य जमिनलाई प्लटिङ गरी कंक्रिट संरचना बढ्दा पानी निकास अवरुद्ध भएको स्थानीयको भनाइ छ। लगातार दुई–तीन दिन पानी पर्दा धेरै बस्ती जलमग्न हुने गरेका छन्।

टेङ्ग्रा खोलाको अतिक्रमण र साँघुरो बन्दै गएको बहाव क्षेत्र पनि डुबानको अर्को कारण बनेको छ। यसको असर वडा नम्बर २, ३, ४, ६, ९, १०, ११ र १२ मा बढी देखिने गरेको छ। धरान–६ पानीमारी क्षेत्रबाट आउने शेरा खोलाको पानीले समेत इटहरी–३ लगायत क्षेत्रमा जोखिम बढाउने गरेको छ।

इतिहास हेर्दा २०४३ सालको बाढीले टेङ्ग्रा खोलाको सतह पुरेको थियो भने साविक इटहरी–१, ४ र ८ नम्बर क्षेत्रको जमिन करिब १० फिटसम्म डुबानमा परेको थियो। २०५३ सालको बाढीले पुनः ठूलो क्षति गरेको थियो। २०७० भदौ २१ गते इटहरीमा पानी नपरे पनि माथिल्लो क्षेत्रको वर्षाले बस्तीमा बाढी प्रवेश गरेको घटना स्थानीयले अझै सम्झिरहेका छन्।

तयारीमा उपमहानगर

इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख तथा विपद् समितिका सदस्य सचिव पुष्पनारायण चौधरीका अनुसार इटहरीका २० वडामध्ये विशेषगरी वडा नम्बर ३, ४, ५, ९, १०, ११, १२ र १३ बढी जोखिममा छन्।

उनका अनुसार टेङ्ग्रा, बुढी, शेरा र खेतीखोलाले इटहरी क्षेत्रमा बढी असर गर्ने गरेका छन्। यस वर्ष सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गरिसकिएको छ। टेङ्ग्रा खोला र नालाको सफाइ गरिएको छ भने बस्तीमा बाढी पस्न नदिन पूर्वतयारी बढाइएको छ।

उपमहानगरले तत्काल उद्धारका लागि र्‍यापिड रेसपोन्स टोली गठन गरेको छ। नगर प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ भने मिस गिट्टी, बोरा, एउटा जेसीबी र टिप्पर पनि तयारी अवस्थामा राखिएको जनाएको छ।

कमेन्टहरु