बेसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक


लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “बेसीसहर–चामे सडकको बेसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार–भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।”
यस सडकखण्डमा अत्यावश्यक रहेका सवारीसाधन भने सञ्चालन गर्न दिने उनले बताए ।
आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको जानकारी भएकाले रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । वर्षाको समयमा पहिरो जानसक्ने सम्भावना रहेकाले यसरी जिल्लामा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको उनको भनाइ छ ।
बेसीसहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म ३५ किलोमिटर पर्छ भने बेसीसहरबाट चामे मनाङसम्म ६५ किलोमिटर दूरी पर्छ । यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सडक हो ।
लमजुङ र मनाङ जोड्ने एक मात्रै सडकका रूपमा रहेको यो खण्डमा बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी बढी मर्कामा पर्दै आएको छन् ।























