अफगानिस्तानमा अमेरिकाको पराजय भावी पुस्ताका लागि पाठ : तालिबान


काठमाडौं । तालिबानले अफगानिस्तानमा अमेरिकाको पराजय आफ्ना भावी पुस्ता र आफ्नो दुश्मन राष्ट्रका लागि एक पाठ भएको बताएको छ ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिलदले काबुलबाट अमेरिकाको अन्तिम विमान प्रस्थान भएको केही समयपछि हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा भने, ‘यो संसारका लागि पनि एउटा पाठ हो ।’
यतिबेला उत्सव मनाउँदै तालिबान लडाकूले हावामा फायरिङ गरे र मेलमिलापको संकेत दिए । युद्धले जीर्ण भइसकेको अफगानिस्तानमा अमेरिका फिर्ता भएसँगै २० वर्षपछि तालिबान सत्तामा फिर्ता भएको छ । सोमबार राती ६ हजार अमेरिकी सैनिकले काबुल विमानस्थल छोडेका छन् ।
यसका साथै अमेरिकाको महाशक्तिको छवी अब पहिलेको जस्तो रहेन । तालिबान लडाकूले काबुल विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन ढिलाई गरेनन् । तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले भने, ‘अफगानिस्तानलाई शुभकामना… यो जीत हामी सबैको हो ।’
यद्यपि, तालिबानले बारम्बार आफ्नो पहिलो शासन कालभन्दा असाध्यै धेरै सहिष्णु र खुल्ला शासन व्यवस्था दिने प्रस्ताव गरेको छ । उनले भने, ‘हामी अमेरिका र संसारसँग निकै राम्रो सम्बन्ध चाहन्छौं । हामी उनीहरु सबैसँग राम्रो कुटनीतिक सम्बन्ध चाहन्छौं ।’ रासस






















