‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’


काठमाडौं, असार १५। असार १५ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन् ।
शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन् । उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति उच्च सम्मान व्यक्त गर्दै असार १५ किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको बताएका छन् ।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै थापाले मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार आवश्यक रहेको बताएका छन् । आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गर्दै चामल आयातमा निर्भरता घटाउन सकिने उनको विश्वास छ ।
उनले सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सन्देशको अन्त्यमा थापाले राष्ट्रिय धान दिवस तथा असार १५ ले अन्नदाता किसानप्रतिको सम्मान अझ सुदृढ बनाउँदै खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । न्यूज बैंक























