देश

बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल

जगत ठाडा मगर
२०७८ भदौ १५ | बिहान ११:०५ बजे

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ ।

केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको श्रोतले जनाएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुने तयारीमा रहेपनि अहिलेसम्म काँग्रेस र माओवादीमात्रै सहभागी छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने दलहरूको तयारी रहेको छ । सोही योजनाअनुसार आजको बैठकमा सत्तारुढ दलभित्र मन्त्रालयको भागबण्डा टुंग्याउने गरी छलफल सुरु भएको बुझिएको छ ।

सोमबार बिहान बालुवाटारमै बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई चाडो पूर्णता दिनुपर्ने छलफल भएको थियो ।

कमेन्टहरु