विश्व

अमेरिकी हवाई आक्रमणको जवाफमा इरानद्वारा बहराइन र कुवेतमा ड्रोन तथा मिसाइल प्रहर

एजेन्सी
२०८३ असार १४ | मध्यान्ह ०१:०३ बजे

दुबई । अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप इरानको रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले आइतबार बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ । साथै, अमेरिकाले सैन्य कारबाही जारी राखेमा युद्ध अन्त्यका लागि भइरहेका वार्ताहरू पूर्ण रूपमा रोक्न सकिने चेतावनी पनि दिएको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले आइतबार बिहान इरानका निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा बारुद बिछ्याउने क्षमतासम्बन्धी संरचनामाथि हवाई आक्रमण गरेको थियो ।

यसको प्रतिकारमा इरानले कुवेत र इरानमाथि आक्रमा गर्यो । कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपित ड्रोन र मिसाइलहरू खसालेको जनाएको छ । क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। कुवेतमा अमेरिकी सेनाको महत्वपूर्ण सैन्य अड्डा छ । बहराइनको विदेश मन्त्रालयले इरानको आक्रमणलाई राज्यको सार्वभौमिकता र नागरिक सुरक्षामाथिको योजनाबद्ध आक्रमण भन्दै कडा निन्दा गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको फिफ्थ फ्लिटको मुख्यालय रहेको छ ।

इरानी रिभोलुसनरी गार्डले दुवै आक्रमणको जिम्मेवारी लिँदै कुवेतस्थित अल असद एयर बेसलाई निशाना बनाइएको दाबी गरेको छ । ‘यदि युद्धविराम फेरि उल्लंघन गरियो भने चलिरहेका सम्पूर्ण वार्ता र प्रक्रियाहरू पूर्ण रूपमा रोकिनेछ,’ चेतावनी दिँदै आईआरजीसीले भनेको छ ।

यसैबीच, अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय समुद्री सुरक्षा निकायले स्ट्रेट अफ होर्मुजनजिक ओमानको समुद्री मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसले इरानसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ ।

अमेरिका र इरानबीच भएको अन्तरिम सहमतिअनुसार विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको नियमित आवतजावत पुनः सञ्चालन गर्ने सहमति भएको थियो । तर, इरानले उक्त मार्गमा दुई पटक जहाजमाथि आक्रमण गर्दै जलमार्गको नियन्त्रण आफूले गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

कमेन्टहरु