कपिलवस्तुको कन्चनिया खोलामाथि निर्माणाधीन पुलको काम पुनः सुचारु


कपिलवस्तु । हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिंगे, कपिलवस्तु अन्तर्गत पर्ने खरेन्द्रपुर–शितलापुर–कर्मा–भिल्मी सडकखण्डमा रहेको कन्चनिया खोलामाथि निर्माणाधीन पुलको काम पुनः सुचारु भएको छ। विभिन्न कारणले केही समयदेखि रोकिएको निर्माण कार्य सरोकारवालाको समन्वय र सहयोगमा पुनः अघि बढाइएको हो।
आर्थिक वर्ष २०७५/७६ मा सिरुवा कन्स्ट्रक्सन प्रा.लि. ले ठेक्का पाएको उक्त पुलको ढलानको काम सम्पन्न भइसकेको छ। कम्पनीका संचालक संतोष ढुंगाना का अनुसार हालसम्म पुल निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ। करिब ९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुल ४० मिटर लामो रहेको उहाँले जानकारी दिनुभयो।
ल्याब टेक्नेसियन सुरेश खटिकले निर्माणाधीन पुलको गुणस्तर प्राविधिक मापदण्डअनुसार सन्तोषजनक रहेको बताउँदै निर्माण कार्य गुणस्तरीय रूपमा अघि बढिरहेको जानकारी दिनुभयो।
स्थानीय कोदई प्रसाद चौधरी ले पुल निर्माण सम्पन्न भएपछि हजारौं स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो सहजता हुने बताउनुभयो। उहाँका अनुसार वर्षौंदेखि स्थानीयले भोग्दै आएको यातायातको समस्या अब अन्त्य हुने विश्वास लिइएको छ।
त्यस्तै, स्थानीय राम अवतार चौधरी ले पुल नहुँदा वर्षायाममा स्थानीयवासीले निकै दुःख पाएको स्मरण गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गर्नुभयो। उहाँले निर्माण कम्पनीप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो।
स्थानीय रमेश कुमार दुबे ले वर्षायाममा कन्चनिया खोला पार गर्न निकै कठिन हुने गरेको बताउँदै विगतमा यस खोलाले धनजनको समेत क्षति पुर्याएको उल्लेख गर्नुभयो। पुल नहुँदा विद्यार्थी, कर्मचारी,श्रमिक तथा सर्वसाधारण गन्तव्यमा पुग्नका लागि वर्षायाममा दशौं किलोमिटर घुमेर यात्रा गर्न बाध्य हुने अवस्था रहेको उहाँले बताउनुभयो। अब पुल निर्माण सम्पन्न भएपछि त्यो समस्या सदाका लागि हट्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले पुल निर्माण केही वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको उल्लेख गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेकाले वडा तथा आसपासका क्षेत्रका सबै स्थानीयवासी अत्यन्त खुसी भएको बताउनुभयो।
पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका हजारौं नागरिकलाई सुरक्षित, सहज र वर्षभरि निर्बाध आवतजावतको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।























