गुल्मीका किसानलाई गाई स्याहार भत्ता


गुल्मी । पहिला गाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन् । किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो । स्थानीय जातका गाईपालनमा किसानलाई आकर्षित गराउने उद्देश्यले यहाँको मदाने गाउँपालिका–१ अग्लुङ्मा स्थानीय लहिनो जातका गाई संरक्षणका लागि किसानलाई प्रतिगाई वार्षिक रु दुई हजार स्याहार भत्ता वितरण गर्न सुरु गरिएको छ ।
पहिला गाउँघरमा मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा थियो । तर अहिले भने पुरोहितले गाई लैजान छाडेसँगै गाईको सट्टामा नगद दिने चलन बढेको वडाध्यक्ष चन्दले जानकारी दिए । धार्मिक कर्मका लागि आवश्यक पर्ने गाईको गोबर र गोमूत्रसमेत खोज्नुपर्ने अवस्था आएको भन्दै उनले गाईपालन व्यवसाय घट्दै जाँदा धार्मिक संस्कार, संस्कृति र परम्परामा प्रत्यक्ष असर पर्दै जान थालेको बताए ।
“पहिला हरेक घरमा गाई पाल्ने प्रचलन थियो, अहिले दिनभरि गाउँमा घुम्दै जाँदा गोठहरू खाली देखिन्छन् । अहिले गाउँघरमा स्थानीय जातका गाई भेटाउन मुस्किल छ, गोबर र गौमूत्र खोज्न टाढा जानुपर्ने बाध्यता छ । वडाले दिएको यो स्याहार भत्ताले गाई जोगाउनका लागि थोरै भए पनि हौसला मिलेको छ”, स्थानीय नरबहादुर विष्टले भने । स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन् । अहिले स्थानीयतहले गाई संरक्षण कार्यक्रम अघि बढाउँदा किसान पनि उत्साहित बनेका छन् ।
वडाध्यक्ष चन्दले स्थानीय गाई संरक्षण गर्नुपर्ने पाका पुस्ताको मागअनुसार यस्तो कार्यक्रम सुरु गरिएको बताए । “गाई हाम्रो मौलिक सम्पत्ति हो, यसको संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न स्याहार भत्ता वितरण सुरु गरेका हौँ, आउँदा वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने हो”, उनले भने ।
स्थानीय गाईको दूध, गोबर र गौमूत्र मानव स्वास्थ्य, जैविकखेती तथा धार्मिक कार्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । हिन्दू परम्परामा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलने छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा गाईबाट प्राप्त वस्तुको प्रयोग हुने भएकाले यसको संरक्षण धार्मिक तथा सांस्कृतिक रूपमा पनि उत्तिकै आवश्यक रहेको स्थानीयको भनाइ छ ।
स्थानीय तहले थालेको यो अभियानले किसानलाई आर्थिक प्रोत्साहनसँगै लोप हुँदै जान थालको परम्परा र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा थप टेवा पुग्ने स्थानीय राधा कुँवरले बताइन् । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।























