तनहुँबाट बाघको छाला, खप्पर, हड्डीसहित तीनजना पक्राउ


तनहुँ । तनहुँमा प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई पक्राउ गरेको छ ।
ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दीका ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
पक्राउ परेका अर्जुनको साथबाट २ थान बाघको छाला, बा.४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा.३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १ थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त अंगहरुकासाथ सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेको दाबी गरेको छ ।
उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।






















