स्वास्थ्य

योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

रासस
२०८३ असार ७ | मध्यान्ह ०१:०३ बजे

काठमाडौँ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस अवसरमा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताए । विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन पनि सुरु भइसकेको उनले जानकारी गराए । योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्यसचिव अर्यालले बताए ।

मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगिताका लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिए । मानसिक रूपमा स्वस्थ रहेर समाज र राष्ट्रलाई पनि स्वस्थ बनाउन योगले सहयोग गर्ने उनको भनाइ थियो ।

जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक, मानसिक, आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनुपर्ने भनाइ राखे । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले आरोग्य दिवसको घोषणा गरेको जानकारी पनि उनले दिए ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

विसं २०३६ माघ १ गतेदेखि मुलुकमा योग दिवस मनाउन प्रारम्भ भएको हो । दशरथ रङ्गशालामा भएको आजको कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइएको थियो ।

कमेन्टहरु