एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे


म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी-जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरी चौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् ।
यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ ।
भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ । लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो ।
पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुआती समयको अनुकूल वैशाख-जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।
मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताए । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो ।
पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ ।
























