मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।
देशका बाढीपहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिँदै उनले भने, “एकीकृत सोचका साथ राहत उद्धारमा संलग्न निकायबीच सहयोग र सहयकार्य गरी जनधनको क्षति कम गर्नेगरी काम हुन आवश्यक छ । विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् ।”
विगतमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले असान्दर्भिक एवं अनधिकृत पदाधिकारीले हेलिकप्टरमा भ्रमण गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छुट अब कसैलाई पनि नरहेको स्पष्ट गरे ।























