रुपेश र कृतिसराको चेस अग्रता


दमक, असार १ । राष्ट्रिय खेलकुद परिषदवाट गठित २६ औं खुल्ला तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा जारी राष्ट्रिय खेलमा रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता लिएका छन्। खेलको तेस्रो चरण सम्पन्न हुदा एफएम रुपेश जैसवालले क्रमशः सिएम पुरुषोत्तम सिलवाल, राजन सुवेदी र मुहान नरसिह श्रेष्ठलाई पराजित गर्दै पूर्ण ३ अंक जोडेका छन्। यस्तै महिला स्पर्धा तर्फ कृतिसरा अधिकारीले पूजा भण्डारी, नुमा सुब्बा र एञ्जल महर्जन विरुद्ध जीत दर्ता गर्दै पूर्ण ३ अंक जोडेकी छिन्। युवा आशिष् फूयाँल २.५ अंक बनाउदै द्वितीय स्थानमा छन्।
उनले अभीक शाह र ज्वाला इम्बुङलाई माथ गर्दै सहपाठी कमल श्रेष्ठ सँग बराबरी नतिजा निकालेका हुन्। खेलमा रिसोन थापाले राजन सुवेदी र मुहान नरसिह सँग बराबरी र कमल श्रेष्ठलाई हराउदै २ अंकका साथ तेस्रो स्थानमा छन्। समान अंकमा रिसोन सँगै सिएम पुरुषोत्तम सिलवाल, सिएम सुश्रुत दहाल लामबद्ध बसेका छन्। राजन सुवेदी, मुहान नरसिंह, ज्वाला इम्बुङको समान १.५ अंक तथा कमल श्रेष्ठ, एआईएम अभीक शाह, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राई समान ०.५ अंकमा छन्।
यता महिला तर्फ निहाना श्रेष्ठले एञ्जल महर्जन र इशा गिरिलाई हराउदै प्रिया क्षेत्री संग बराबर नतिजामा २.५ अंक जोडिन भने समान २.५ अंक बनाउदै प्रियाले इशा र प्रविशालाई पराजित गर्दै निहाना सँग बराबरी गरिन्। यसैगरी शुशिला गुरूङले २ अंक जोडिन्। एञ्जेल महर्जन, पूजा भण्डारी, बिनिता कपाली, सिन्दिरा जोशीको समान १.५ अंक बनेको छ। प्रविशा दवाडीको १अंक छ । इशा गिरि,पुनम प्रसाईंको ०.५ अंक छ भने नुमा सुब्बाको अंकको खाता खुल्न सकेको छैन। यसैबीच सोमबार प्रदेश खेलकुद बिकास वोर्ड, कोशी प्रदेश, विराटनगरका सदस्यसचिव बिप्लव घोषले कार्यक्रमको उद्घाटन गरेका छन्।
उनले सबै खेलका खेलाडीलाई मेडल प्राप्त गरे मुताबिक नगद पुरस्कार प्रदान गरिदै आएको जिकिर गरेका छन्। खेलाडी आत्मनिर्भर हुने वाटो निर्माण गर्नु पर्ने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा विशेष अतिथि दकम नगरपालिकाका मेयर दिपक थापा, प्रतियोगिताका सह संयोजक दिपेन राई, सदस्य राजु ताम्राकार, सानुराज बज्राचार्य लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाको सभापतित्वमा सञ्चालन भएको थियो ।























