तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै


तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यहाँको दुई सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै रुद्राक्ष रोपण गर्न लागिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । “ठुलो परिमाणमा तनहुँमा पहिलो पटक रुद्राक्ष रोपण गर्न लागिएको हो”, उनले भने, “यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको छ ।”
जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्षयता परीक्षणका रूपमा रोपण गरिएको रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तारित गर्न लागिएको वन अधिकृत अरुण पराजुलीले बताए । “प्रारम्भिक चरणमा दुवै वनमा रुद्राक्ष खेती विस्तार गर्ने लक्ष्य लिइएको छ भने क्रमशः अन्य वन उपयोगकर्ता समूहमा समेत कार्यक्रम लैजान तयारी भइरहेको छ”, उनले भने । पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोपण गरिने उनले जानकारी दिए ।
सामुदायिक वन उपभोक्ताका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षण र स्थानीय रूपमा आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । परम्परागत रूपमा दाउरा र घाँसमा निर्भर रहँदै आएको सामुदायिक वन व्यवस्थापनलाई अब आयमूलक वन उपज उत्पादनतर्फ मोड्न रुद्राक्ष सहायक बन्ने उपभोक्ताको अपेक्षा छ ।
रुद्राक्षको वृक्षले घना छायाँ र माटोको क्षय नियन्त्रणमा सहयोग गर्ने भएकाले सामुदायिक वन क्षेत्रको वातावरणीय सुधारमा समेत सकारात्मक प्रभाव पर्ने प्राविधिकले बताएका छन् । वन क्षेत्रभित्र नै रुद्राक्ष खेती विकास गर्न सकिने भएकाले जग्गा व्यवस्थापनमा चुनौती नरहने पराजुलीले बताउनुभयो । प्रारम्भिक वर्षमा सिँचाइ, मल तथा संरक्षणमा ध्यान दिनुपर्ने वन डिभिजन कार्यालयले जनाएको छ ।
स्थानीय तहले धार्मिक क्षेत्रमा रुद्राक्ष रोपण गर्दै आए पनि डिभिजन वन कार्यालयले पहिलो पटक ठुलो परिमाणमा रुद्राक्ष रोपणलाई प्राथमिकता दिएको छ । केही पालिकाले सामुदायिक वनमा नयाँ बिरुवा रोपिरहेका उपभोक्ता समूहलाई प्रोत्साहन, प्राविधिक तालिम र नर्सरी विकासका लागि तालिम दिने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
हिन्दु धर्ममा पवित्र मानिने रुद्राक्षलाई भगवान् शिवको प्रतिकका रूपमा लिइन्छ । यसको धार्मिक, आध्यात्मिक तथा स्वास्थ्यसम्बन्धी विभिन्न उपयोगिता रहेको विश्वास गरिन्छ । धार्मिक तथा आध्यात्मिक रूपमा माला बनाएर मन्त्र जप गर्न प्रयोग गरिन्छ । धार्मिक रूपमा मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्ने विश्वास छ । तनाव, चिन्ता र मानसिक अशान्ति कम गर्न मद्दत गर्ने विश्वास छ । आत्मविश्वास र सकारात्मक सोच बढाउन यसको उपयोगले सहयोग पुग्ने र स्मरण शक्ति सुधार गर्न प्रयोग गरिएको पाइन्छ ।
रक्तचाप (ब्लड प्रेसर) सन्तुलित राख्न सहयोग गर्ने परम्परागत विश्वास छ भने मुटुसम्बन्धी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र शरीरमा ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ । सांस्कृतिक तथा आर्थिक रूपमा नेपालको विशेष गरी पूर्वी पहाडी क्षेत्रमा रुद्राक्षको उत्पादन हुने भएकाले यसको आर्थिक महत्त्व रहेको छ । रुद्राक्ष धार्मिक पर्यटन र व्यापारसँग पनि जोडिएको छ । विभिन्न मुखी (१ मुखीदेखि २१ मुखीसम्म) रुद्राक्षको बजार मूल्य फरक–फरक रहेको पाइन्छ ।























