हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै


पाँचथर । लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका-४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ। धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो।
दरबार क्षेत्रमा प्यागोडा शैलीको तीनतले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु दुई करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माण भएको गाउँपालिका कार्यालयले जनाएको छ । मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा निर्माण भएको दरबारका संरचना भगवती बौद्ध जेभी इलामले निर्माण गरेको हो।
नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनेपछि राजा हिलिहाङ तथा उहाँको दरबारबारे खोजी सुरु भएको थियो । हिलिहाङ फाउन्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ।
गाउँपालिकाले हिलिहाङ महोत्सव गर्नुका साथै कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय स्थापना गरेपछि यस क्षेत्रबारे थप चासो बढेको अध्यक्ष अधिकारीले बताए। उनका अनुसार पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्विक सम्पदाबारे खोजी गरिरहेको छ ।
समुद्री सतहबाट एक हजार ८२० मिटर उचाइमा पर्ने हिलिहाङ दरबार क्षेत्र जङ्गलको बीचमा अवस्थित छ । शान्त, एकान्त र सुन्दर हरियालीमा अवस्थित यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाको पहलमा सडक विस्तार भएपछि पर्यटकको आवागमन सहज भएको छ। गाउँपालिकाले पाँच वर्ष अघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको अध्यक्ष अधिकारीले जानकारी दिए।
उनका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउने, हिलिहाङ राजाको शासनकालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ। दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीसहित पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न पालिकाले लगानी गरिरहेको उनले बताए।
“नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर विसं १८३१ साउनमा राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम (जिल्ला)लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिनुभएको इतिहास छ । विसं १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बूवानका अन्तिम राजा भन्ने गरिन्छ”, अध्यक्ष अधिकारीले भने।
पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उहाँसँग रुष्ट पक्षले दरबार र राज्यसत्तामा दखल दिएकाले दरबारको संरक्षण हुन नसक्दा भत्किएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । अध्यक्ष अधिकारीका अनुसार उक्त दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खालहरू अझैपनि दरबार परिसरमा छन्।























