पश्चिम एसियामा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह


काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै पश्चिम एसिया क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो सङ्कटमा तानिएको उल्लेख गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाएका छन् । पछिल्लो समयमा बढेको आक्रमणले र अवस्था थप बिग्रन लागेको उनले बताएका छन्, जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ । उनले कुनै पनि पक्ष आक्रमक नबनी थप जोखिमलाई कम गर्नुपर्ने बताएका छन् । सबै पक्षले कूटनीतिक समाधानका लागि भूमिका खेल्नुपर्ने बताउँदै उनले अब कुनै पनि बहानामा आक्रमण गर्न नहुने बताएका छन् ।
इरानको आइआरजिसीलाई उद्धृत गर्दै अल जजिराले अमेरिकी आक्रमणको प्रतिक्रियाका लागि कुवेतको अली अल–सलेम र अहमद अल–जाबेर र बहराइनको शेख इसा एयर बेससहित १८ वटा अमेरिकी सैन्य क्षेत्रहरुलाई लक्षित गरिएको बताएको छ ।
तनाव बढ्दै जाँदा, आईआरजिसीका कमान्डर जनरल सैयद माजिद मौसवीले अमेरिकालाई चेतावनी दिँदै यदि अमेरिकाले स्ट्रेट अफ होर्मुजको सुरक्षामा धम्की जारी राख्यो भने यस क्षेत्रलाई रणभूमिमा परिणत गर्ने बताएको प्रेस टिभीले रिपोर्ट गरेको छ ।
























