विश्व

तराईको प्रदूषणले हिउँ कालो बनेर पग्लिँदै, बिहार र पश्चिम बंगाल सबैभन्दा अगाडि

नवलपुर टुडे
२०८३ जेष्ठ २८ | बिहान ०६:०२ बजे

पर्यटकले छोड्ने पोलिथिनले हिमालयलाई धमिराले काठ नष्ट गरेझैँ क्षति पुर्‍याइरहेको छ 

काठमाडौं । नासाद्वारा गरिएको २५ वर्षको भूउपग्रह तथ्यांकको विश्लेषणले बिहारसहित भारतका मैदानी भूभागमा तीव्र रूपमा फैलिरहेको प्रदूषण हिमालय क्षेत्रसम्म पुगेको पुष्टि गरेको छ ।

प्रसिद्ध जर्नल ‘एटमस्फेरिक इन्भायरन्मेन्ट’मा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार यस प्रदूषणका कारण हिमनदीहरूमा जमेको हिउँ तीव्र रूपमा कालो बन्दै गएको छ । र, छिटोछिटो पग्लिरहेको छ ।

सन् २००० देखि २०२४ सम्मको तथ्यांक अध्ययन गर्दा सिन्धु–गंगाका मैदानी क्षेत्र, हिमालय क्षेत्र तथा उत्तर–पूर्वी भारतमा सूक्ष्म कणको मात्रा २० प्रतिशतभन्दा बढीले बढेको देखिएको छ ।

सवारीसाधनबाट निस्कने धुवाँ र जैविक पदार्थको दहनका कारण हावामा अर्गानिक कार्बन र सल्फेटको मात्रा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको रेकर्ड गरिएको छ । यसैका कारण ब्ल्याक कार्बनका कण हिमाली क्षेत्रमा पुगेर हिउँमा जम्न थालेका छन्, जसले हिउँलाई कालो बनाउँदै पग्लिने गति बढाइरहेको छ ।

कोलकातास्थित बोस इन्स्टिच्युटको स्रोतलाई उद्धृत गर्दै प्रकाशित प्रतिवेदनमा वायुमण्डलमा रहेका प्रदूषण र धुवाँका कणहरूको विस्तृत अध्ययन गरिएको छ । हिन्दुस्तानको रिपोर्टअनुसार बिहार र पश्चिम बंगालमा प्रदूषणको स्तर सबैभन्दा गम्भीर पाइएको छ । प्रदूषण सूचकांकमा बिहार ०.७१ र पश्चिम बंगाल ०.७० अंकसहित भारतका प्रमुख प्रदूषण ‘हटस्पट’का रूपमा देखिएका छन् ।

पराल जलाउने कार्य तथा धुलोका कारण पञ्जाब र हरियाणाको संयुक्त सूचकांक ०.५१ रहेको छ । उत्तर–पूर्वी भारतमा यो ०.४० रहेको छ । थर्मल पावर प्लान्ट, बायोमासको दहन तथा सहरी ठोस फोहोर जलाउँदा निस्कने उत्सर्जनका कारण प्रदूषणको अवस्था झन् गम्भीर बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

यसबाट दाउरा, गुइँठा तथा अन्य बायोमास इन्धनको प्रयोग अझै धेरै छ । त्यसबाट उत्पन्न प्रदूषण नियन्त्रणमा चुनौती कायम छ ।

“दक्षिण एसियाली देशहरू भारत, पाकिस्तान, बंगलादेश र नेपालमा जनघनत्व अत्यधिक छ । तीव्र औद्योगिकीकरण, पूर्वाधार निर्माण तथा अन्य विकास गतिविधिका कारण वायुमण्डलमा एरोसोल कणहरूको मात्रा बढ्दै गएको छ,” वातावरणविद् पीके दास भन्छन्, “यसले वायुको गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ ।”

बिहार र पश्चिम बंगाल भौगोलिक रूपमा पूर्वी हिमालयनजिक रहेकाले वायुमण्डलीय हावामार्फत त्यहाँको प्रदूषण सिक्किम, भुटान र नेपालका हिमनदीसम्म पुगिरहेको उनको छ । यो भविष्यमा आउन सक्ने ठूलो वातावरणीय संकटको संकेत भएको उनको भनाइ छ ।

अनुसन्धानअनुसार मैदानी क्षेत्रमा हुने उत्सर्जन मनसुनी तथा जाडोयामका हावासँगै हिमालयसम्म पुग्छ र त्यहाँको एरोसोल संरचनालाई प्रभावित गर्छ । एरोसोल भनेको वायुमण्डलमा तैरिरहेका धुलो, कालो धुवाँ तथा विभिन्न रासायनिक सूक्ष्म कणहरूको मिश्रण हो ।

प्रतिवेदनमा पञ्जाब, हरियाणा र दिल्ली क्षेत्रको प्रदूषण पश्चिमी तथा मध्य हिमालयसम्म पुगिरहेको उल्लेख छ । बिहार र पश्चिम बंगालबाट उत्पन्न प्रदूषणले पूर्वी हिमालयलाई बढी असर गरिरहेको बताइएको छ ।

सन् २०००–२००९ को अवधिमा बिहार, उत्तर प्रदेश, उत्तरी पश्चिम बंगाल, असम, मेघालय, त्रिपुरा तथा बंगलादेशका केही भागमा सीमित रहेको प्रदूषण सन् २०२०–२०२४ सम्म आइपुग्दा पूरै बिहार, पश्चिम बंगाल, बंगलादेश, असम, मेघालय र त्रिपुराका विस्तृत क्षेत्रमा फैलिएको देखिएको छ ।

हिउँको एउटा प्राकृतिक गुण सूर्यको प्रकाशलाई परावर्तन गर्नु हो, जसलाई ‘अल्बीडो प्रभाव’ भनिन्छ । तर, ब्ल्याक कार्बनका कण हिउँमा जम्दा त्यसले प्रकाश परावर्तन गर्नुको सट्टा बढी ताप सोस्न थाल्छ । फलस्वरूप हिउँ पग्लिने गति तीव्र हुन्छ ।

“भारत सरकारको ‘नेसनल क्लिन एयर प्रोग्राम’ले सहरहरूमा वायुको गुणस्तर सुधार गर्न केही सकारात्मक काम गरेको छ । तर, ग्रामीण क्षेत्रमा अझै व्यापक र समन्वित प्रयास आवश्यक छ,” दास भन्छन्, “विशेषगरी बिहार सरकारले प्रदूषण नियन्त्रणका लागि थप व्यावहारिक र कडा कदम चाल्नुपर्छ ।”

मौसम वैज्ञानिक एनके कर्ण यदि, हिमालयको हिउँ तीव्र गतिमा पग्लिन थाले यस क्षेत्रको तापक्रम उल्लेखनीय रूपमा बढ्ने बताउँछन् । जसले वरपरका क्षेत्रमा बसोबास गर्न कठिन हुन सक्छ । यसले जलवायु परिवर्तनको प्रभावलाई अझ तीव्र बनाउनेछ । “पहाडी क्षेत्रमा बढ्दो पर्यटनका कारण पनि प्रदूषण बढिरहेको बताइएको छ,” कर्ण भन्छन्, “पर्यटकहरूले छोड्ने पोलिथिन तथा अन्य फोहोरले हिमालयलाई धमिराले काठ नष्ट गरेझैँ क्षति पुर्‍याइरहेको छ । जुनसुकै हालतमा पनि हिमालयको संरक्षण गर्न आवश्यक छ ।” डाउन टु अर्थ

कमेन्टहरु