बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड


काठमाडौँ, जेठ २४। बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी चेतना अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ ।नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बाथरोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने, तर ढिलो गरी उपचार गर्दा मिर्गौला र फोक्सोलगायत महत्वपूर्ण अङ्गमा असर पुग्ने तथा उपचार खर्चसमेत महँगो हुने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेको वक्ताहरूले बताएका हुन् ।
सेन्टरका अध्यक्ष डा विनीत वैद्यले बाथरोग ‘मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने’ रोग भएकाले लक्षण देखिनासाथ उपचार सुरु गर्नुपर्ने बताउनुभयो । सेन्टरले अनुसन्धान, शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । वार्षिकोत्सवकै अवसरमा सेन्टरले आजदेखि ‘र्युमा फ्युजन नेटवर्क’को घोषणा पनि गरेको छ ।
सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले अध्यक्ष वैद्यको नेतृत्वमा गरिएको अनुसन्धानले बाथरोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने पुष्टि गरेको बताउनुभयो । बाथरोगबारे आमसञ्चार माध्यम तथा सम्बन्धित निकायमार्फत अझ व्यापक जनचेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ब्याण्डको तर्फबाट सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा सेन्टरका पोखरा शाखा प्रमुख डा कृष्ण ढकाल, मानव संसाधन विभागकी पवित्रा कार्कीलगायत वक्ताले बाथरोगबाट आम नेपालीलाई जोगाउन जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । कार्यक्रममा सेन्टरमा दीर्घ सेवा गरेका कर्मचारी तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो ।























