नेपाल प्रहरीको सीमा नाकामा निगरानी तीव्र, चोरी-तस्करी नियन्त्रणमा उच्च कडाइ


पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, जेठ २४ गते । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी-तस्करी र आपराधिक गतिविधि शून्यमा झार्न थप कडाइ गरेको छ । हालै मात्र जिल्ला प्रहरी प्रमुखको रूपमा कमाण्ड सम्हाल्न आइपुग्नुभएका प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले सीमा क्षेत्रमा प्रहरीको गस्ती र निगरानीलाई तीव्र पार्दै तस्करीविरुद्ध कडा एक्सन सुरु गर्नुभएको हो ।
जिल्लाका विभिन्न मातहतका प्रहरी युनिटहरूको स्थलगत निरीक्षण पश्चात् पत्रकारसँग कुराकानी गर्दै प्रहरी प्रमुख एसपी केसीले जिल्लाको शान्ति सुरक्षा बलियो बनाउन र आपराधिक गतिविधि शून्यमा झार्न मातहतका सबै प्रहरी युनिटहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिसकिएको जानकारी दिनुभयो । निरीक्षणका क्रममा उहाँले कार्यस्थलमा खटिएका प्रहरी कर्मचारीहरूलाई तस्करीका ‘लुपहोल्स’ हरू बन्द गर्न र कार्यसम्पादनमा कुनै सम्झौता नगर्न कडा निर्देशन समेत दिनुभएको छ ।
“दोषी नउम्कियोस्, निर्दोष नपरोस्” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै प्रहरीले काम गरिरहेको बताउँदै प्रहरी उपरीक्षक केसीले भन्नुभयो, “सीमावर्ती क्षेत्रमा थप निगरानी बढाएर चोरी-तस्करी र राजस्व चुहावट पूर्ण रूपमा नियन्त्रण गर्नु हाम्रो मुख्य लक्ष्य हो । यसमा कुनै पनि बहानामा सम्झौता वा सम्भावना रहँदैन, अवैध धन्दा गर्नेहरूमाथि प्रहरी निर्मम रूपमा प्रस्तुत हुनेछ ।” उहाँले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन अहिले सीमा नाकाहरू, भित्री सडकखण्ड र सम्भावित ‘तस्करी रुट’ हरूमा विशेष चेकिङ र मोबाइल गस्ती बढाइएको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा दाङबाट सरुवा भई आउनुभएका एसपी केसीले पश्चिम नवलपरासी खुला सीमाका कारण लागूऔषधको कारोबार र चोरी-पैठारीको मुख्य जोखिममा रहेको औंल्याउँदै यसलाई जिल्लाको मुख्य चुनौतीका रूपमा स्वीकार गर्नुभएको छ ।
यो चुनौती सामना गर्न प्रहरी एक्लैको प्रयास मात्र पर्याप्त नहुने भन्दै उहाँले लागूऔषध र तस्करी नियन्त्रणको महाअभियानमा आम जनता र सञ्चार क्षेत्रबाट पूर्ण सहयोग र सूचनाको अपेक्षा गरिएको बताउनुभयो । जनताको विश्वास जितेर, नागरिकसँगको सहकार्य बलियो बनाउँदै जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई सुदृढ बनाउन जिल्ला प्रहरी कार्यालयले विशेष रणनीतिक योजनासहित काम अगाडि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।
























