सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध


सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले पाँचपन-चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ ।
सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गरे । बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक आजैदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

























