कोशी अस्पतालको शौचालयमा एक वृद्ध मृत भेटिए


सुनसरी । सुनसरीको इनरुवाका एक वृद्ध विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।
कोसी अस्पतालको ओपिडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत फेला परेको अस्पतालले जनाएको छ ।
मृत अवस्थामा भेटिएका पोखरेललको गोजीमा जिल्ला अस्पताल इनरुवा सुनसरीको ओपीडी (बहिरंग विभाग)को पूर्जा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घोप्टो परेर लडिरहेको र मुखबाट फिँज निस्किरहेको अवस्थामा पोखरेलको शव भेटिएको थियो ।
होमराजलाई इनरुवा अस्पतालले थप उपचारका लागि विराटनगरको कोशी अस्पताल रेफर गरेको ओपिडी पूर्जामार्फत खुलेको हो । दिसापिसाब गर्न शौचालय गएका बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।
पोखरेलको साथमा मधुमेह लगायतका रोगका औषधि पनि भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।






















