दुबई यूएई, प्रबास, विश्व

अबुधाबीमा सगरमाथा दिवस भव्य रूपमा मनाइयो, यूएईका पर्वतारोहीहरू सम्मानित

कबिराज राजबंशी
२०८३ जेष्ठ १८ | मध्यान्ह ०४:०२ बजे

प्रवास दुवई, यूएई|

अबुधाबीस्थित नेपाली दूतावासले विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरव र नेपालको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना गरेको हो । नेपालको गणतन्त्र दिवससँगै आयोजित उक्त कार्यक्रममा यूएई सरकारका उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक प्रतिनिधि, व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, पर्वतारोही तथा नेपाली समुदायका अगुवासहित करिब १३० जनाको उपस्थिति रहेको थियो।

IMG 20260601 145530

कार्यक्रममा सगरमाथा आरोहणमार्फत अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका यूएईका पर्वतारोही सईद अल मामारी, नायला अल बलुशी र खदिजा तुर्कीको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। विशेषगरी अरब क्षेत्रबाट सगरमाथा आरोहण गर्ने पहिलो दम्पतीका रूपमा परिचित सईद अल मामारी र नायला अल बलुशीको उपलब्धिलाई उच्च सम्मानका साथ प्रस्तुत गरिएको थियो।

 

IMG 20260601 145502

नेपालका लागि यूएईस्थित राजदूत तेजबहादुर क्षेत्रीले सगरमाथाको चुचुरोसम्म यूएईको झण्डा पुर्‍याई दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउने पर्वतारोहीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्नुभयो।

IMG 20260601 145339

कार्यक्रममा नेपाली सांस्कृतिक झल्को दिने नृत्य तथा सांस्कृतिक प्रस्तुति, नेपाली हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा नेपाल पर्यटन बोर्डद्वारा तयार गरिएको पर्यटन प्रवर्द्धन भिडियो प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई नेपाली अलैंची समावेश गरिएका विशेष उपहार झोलाहरू वितरण गरिएको थियो।

 

त्यसैगरी, कार्यक्रमलाई थप आकर्षक बनाउन आयोजित राफल ड्रमार्फत चार जना सहभागीले एयर अरेबिया र फ्लाइदुबईको सौजन्यमा प्रदान गरिएको दुईतर्फी हवाई टिकट प्राप्त गरेका थिए।

 

दूतावासकी काउन्सिलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालले सगरमाथाको ऐतिहासिक, सांस्कृतिक र पर्यटन महत्वबारे प्रस्तुति दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन तृतीय सचिव सोनिया डोटेलले गर्नुभएको थियो।

 

कार्यक्रमले नेपालको प्राकृतिक सम्पदा, साहसिक पर्यटन र सगरमाथाको विश्वव्यापी महत्वलाई अन्तर्राष्ट्रिय समुदायमाझ थप प्रभावकारी रूपमा उजागर गरेको दूतावासले जनाएको छ।

कमेन्टहरु