नेकपा (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ : सांसद मेटमणी चौधरी


दाङ । नेकपा (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको उक्त पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् ।
‘हामीसँग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’, उनले भने ‘चार शिर्ष नेतामध्ये उतातिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ,’ सोमबार दाङको देउखुरीमा आयोजित पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को भेलामा चौधरीले भने ।चौधरीले अबको निर्वाचनमा अन्य पार्टीसँग पनि कार्यगत एकता गरेर अगाडि बढ्ने सम्झौता भएको समेत बताए ।
उनले भने ‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने सहमति भएको छ’।प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले भूमिहीनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको भन्दै जग्गा पाउने कुरामा ढुक्क हुन समेत आग्रह गरे ।
अर्को प्रसंगमा चौधरीले लुम्बिनी प्रदेशको राजधानी दाङमा सार्न लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको मात्रै भूमिका नरहेको बताए । एमाले नेता शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै उनले आफूहरुको जोडबलमा भालुवाङमा सबैलाई पाहेक पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको दाबी गरे ।
प्रदेशको स्थायी राजधानी तोकिएपछि देउखुरीबाट पोखरेलले चुनाव लड्ने चर्चा दाङमा चलिरहेको बेला चौधरीले यो क्षेत्रबाट पोखरेलले एक हजार भोट पनि नपाउने दाबी गरे । ‘शंकर पोखरेल यो क्षेत्रमा आए भने एक हजार भोट पनि कटाउन सक्दैनन्,’ उनले भने ।






















