‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र


भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ ।
कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताए । हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।
वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण सवारी आवतजावत कठिन हुँदा बिरामी ओसारपसार, कृषिउपज ढुवानी तथा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । स्थानीय भीमप्रसाद राईले सडक कालोपत्र सुरु भएपछि धुुलो र हिलोको समस्या अन्त्य भएको बताए ।
निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले बर्सातले असर नगरेमा सम्झौता अवधिअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । विसं २०८० मङ्सिर महिनाबाट सडक निर्माण सुरु गरिएको हो । यो सडक आयोजना सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकास टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।

























