विश्व

सम्बन्ध विस्तारका लागि पाकिस्तान र चीनबिच ‘नयाँ विस्तृत सहमति’

एजेन्सी
२०८३ जेष्ठ १२ | मध्यान्ह ०६:०२ बजे

बेइजिङ । पाकिस्तान र चीनले रणनीतिक सम्बन्ध अझ गहिरो बनाउने विषयमा नयाँ विस्तृत सहमति गरेका छन् ।दुवै देशले संयुक्त आर्थिक परियोजना विस्तार गर्ने, क्षेत्रीय सम्पर्क सञ्जाल बलियो बनाउने र ग्वादर बन्दरगाहलाई महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । यो सहमति पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको चीन भ्रमणको क्रममा भएको हो । उनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छियाङसँग भेटवार्ता गरेका थिए ।

दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै चाइना–पाकिस्तान आर्थिक करिडोर (सीपेक)लाई अझ अघि बढाउने सहमति जनाएको बताएका छन् । यो परियोजना चीनको बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत प्रमुख परियोजनामध्ये एक हो । सम्झौताअनुसार करिब १ हजार ३०० किलोमिटर लामो काराकोरम राजमार्ग स्तरोन्नति गरिनेछ भने पाकिस्तानको ग्वादर बन्दरगाहलाई क्षेत्रीय सम्पर्क र व्यापार केन्द्रका रूपमा विकास गरिनेछ ।

चीनले पाकिस्तानमा आफ्ना नागरिक र लगानी सुरक्षाबारे चासो व्यक्त गर्दै आएको छ । पछिल्ला वर्षहरूमा चिनियाँ परियोजना र नागरिकमाथि आक्रमण भएका कारण पाकिस्तानले सुरक्षा मजबुत बनाउने र चिनियाँ कामदारको सुरक्षाका लागि विशेष कदम चाल्ने प्रतिबद्धता जनाएको छ । दुवै देशले विश्व व्यवस्थालाई बहुध्रुवीय बनाउने पक्षमा रहेको र एकपक्षीय अन्तर्राष्ट्रिय कदमहरूको विरोध गर्ने पनि बताएका छन् ।

संयुक्त वक्तव्यमा पाकिस्तानले ‘एक चीन नीति’प्रति आफ्नो समर्थन पुनः व्यक्त गरेको छ । पाकिस्तानले ताइवानलाई चीनको अभिन्न हिस्सा मानेको र ताइवान स्वतन्त्रताको कुनै पनि प्रयासको विरोध गर्ने उल्लेख गरेको छ । ताइवानले भने आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार आफ्नै जनतामा रहेको बताउँदै आएको छ ।

यसैबिच चीनले अमेरिका–इजरायल र इरानबिचको युद्धमा अस्थायी युद्धविराम गराउन पाकिस्तानले खेलेको मध्यस्थ भूमिकाको प्रशंसा गरेको छ । दुवै पक्षले मध्यपूर्वमा शान्ति स्थापना गर्न प्रस्ताव गरिएको पाँचबुँदे पहललाई छिट्टै लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पाकिस्तान र चीनले अफगानिस्तानसँग संवाद बढाउने विषयमा पनि सहमति जनाएका छन् । साथै दुवै देशले क्षेत्रीय सुरक्षामा खतरा पु‍र्याउने समूहहरू, विशेषगरी पाकिस्तान तालिबान (टीटीपी) र पूर्वी तुर्केस्तान इस्लामिक आन्दोलनजस्ता संगठनहरूको गतिविधिको विरोध गर्ने बताएका छन् । 

कमेन्टहरु