स्वस्थ महिलामा पनि किन हुन्छ गर्भपात ?


काठमाडौँ । गर्भपात महिलाको स्वास्थ्य कमजोर हुँदा वा गर्भावस्थामा लापरबाही गर्दा मात्रै हुन्छ भन्ने सोच धेरैको छ । तर नयाँ वैज्ञानिक अध्ययनले पूर्ण रूपमा स्वस्थ र फिट महिलामा पनि गर्भपात हुन सक्ने देखाएको छ ।
अनुसन्धानकर्ताहरूले यसको एउटा नयाँ कारण आमाबुबाको जिनसँग सम्बन्धित रहेको बताएका छन् । नेचरमा प्रकाशित नयाँ अध्ययनमा वैज्ञानिकहरूले करिब १ लाख ४० हजार आईभीएफ भ्रूणको आनुवंशिक तथ्याङ्क विश्लेषण गरेका थिए । अध्ययनका क्रममा धेरै भ्रूणमा क्रोमोजोमको सङ्ख्या असामान्य रहेको पाइएको छ । यस अवस्थालाई “एनेयूप्लोइडी” भनिन्छ ।
वैज्ञानिकहरूले बढ्दो उमेरसँगै गर्भपतनको जोखिम पनि बढ्ने पुष्टि गरेका छन् । तर उनीहरूका अनुसार केवल उमेर मात्रै होइन, केही विशेष जिनहरूले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्छन् । अध्ययनमा एसएमसी१बी नामक विशेष जिनको पहिचान गरिएको छ । यो जिन अण्डा बन्ने क्रममा क्रोमोजोमलाई सही रूपमा जोडेर राख्ने कामसँग सम्बन्धित हुन्छ । यो जिनमा परिवर्तन भयो भने क्रोमोजोमहरू सही तरिकाले छुट्टिन सक्दैनन्, जसले भ्रूणमा समस्या उत्पन्न गर्न सक्छ र गर्भपातको जोखिम बढ्न सक्छ ।
यसका अतिरिक्त C14orf39, CCNB1IP1 र RNF212 जस्ता अन्य जिनहरू पनि यो प्रक्रियासँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ । वैज्ञानिकहरूका अनुसार महिलामा अण्डा बन्ने प्रक्रिया उनीहरू आफ्नै आमाको गर्भमा हुँदा नै सुरु हुन्छ । त्यसपछि यो प्रक्रिया धेरै वर्षसम्म रोकिएर बस्छ र पछि डिम्बाशयबाट बाहिर निस्कने प्रक्रियाका बेला यो पुनः सक्रिय हुन्छ । यही लामो अन्तरालमा क्रोमोजोमसम्बन्धी गडबडी हुने सम्भावना बढ्न सक्छ।
यद्यपि, सबै गर्भपात केवल आनुवंशिक कारणले मात्र हुँदैनन् । बढ्दो उमेर, तनाव, अस्वस्थ जीवनशैली, धूम्रपान, प्रदूषण तथा केही स्वास्थ्य समस्याहरूले पनि गर्भपतनको जोखिम बढाउन सक्छन् । अनुसन्धानकर्ताका अनुसार यो अध्ययनले भविष्यमा राम्रो प्रजनन उपचार तथा गर्भावस्था हेरचाह प्रणाली विकास गर्न महत्त्वपूर्ण सहयोग पुर्याउन सक्छ ।






















