घटना

तनहुँमा चट्याङ लागेर बुलिङटार १ का भीमकुमारी थापासहित दुई जना घाइते

नवलपुर टुडे
२०८३ जेष्ठ ९ | बिहान ०६:०२ बजे

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा दुई जना महिला घाइते भएका छन् । स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा उहाँहरू घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार कार्कीका अनुसार साँझ ६ः०० बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–१ बस्ने वर्ष ३५ की भीमकुमारी थापा र तनहुँको व्यास नगरपालिका–१४ रुम्सी बस्ने वर्ष ६७ की पुरनमाया थापा घाइते हुनुभएको हो ।

घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएता पनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल रिफर गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । 

प्रहरीले वर्षात्को समयमा चट्याङको जोखिम बढ्ने भएकाले मेघगर्जन र हावाहुरी चलेको बेला सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ । यस साता अघि रुम्सीमा मै चट्याङ लागेर सन्तराज थापाको छोरी १९ वर्षीया ललिता थापाको मृत्यु भएको थियो । 

कमेन्टहरु