प्रबास

इजरायली संसद् विघटनको पक्षमा मतदान, अब के हुन्छ ?

एजेन्सी
२०८३ जेष्ठ ७ | मध्यान्ह ०५:०२ बजे

तेल अभिभ । इजरायलको संसद् नेसेटले बुधबार आफूलाई विघटन गर्ने विधेयक पारित गरेको छ ।यस निर्णयले इजरायलमा निर्धारित समयभन्दा केही हप्ता अगाडि नै राष्ट्रिय चुनाव हुन सक्ने सम्भावना बढाएको छ । विभिन्न सर्वेक्षणहरूले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता संकटमा परेको संकेत गरिरहेको समयमा संसद् विघटन भएको हो । पछिल्ला केही वर्षदेखि इजरायल लगातार राजनीतिक अस्थिरता, युद्ध र गठबन्धन संकटबाट गुज्रिरहेको छ । यस्तोमा यो घटनाक्रमलाई इजरायली राजनीतिमा ठुलो मोडका रूपमा हेरिएको छ । 

कहिले हुन्छ चुनाव ?

हालसम्म नयाँ चुनावको मिति तय गरिएको छैन । इजरायलमा सामान्यतया प्रत्येक चार वर्षमा राष्ट्रिय चुनाव हुने व्यवस्था भए पनि त्यहाँ समयअघि चुनाव हुने क्रम नयाँ होइन । पछिल्लो राष्ट्रिय चुनाव सन् २०२२ को नोभेम्बरमा भएको थियो । कानुनी रूपमा अर्को चुनाव अक्टोबर २७ भित्र गरिसक्नुपर्नेछ । तर संसद् विघटन प्रक्रियाले चुनावलाई अगाडि सार्न सक्ने सम्भावना बढेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार आगामी सेप्टेम्बरको पहिलो आधामा चुनाव हुन सक्ने अनुमान गरिएको छ । यद्यपि अन्तिम समयसम्म ढिलाइ गरेर अक्टोबर नजिक पनि मतदान हुन सक्छ । 

किन विघटन गरियो संसद् ?

संसद् विघटनको मुख्य कारण नेतन्याहुको गठबन्धन सरकारभित्रको ठुलो विवाद हो । नेतन्याहुका परम्परागत राजनीतिक सहयोगी मानिने अति–कट्टरपन्थी यहुदी दलहरूले यस महिनाको सुरुमा प्रधानमन्त्रीप्रति समर्थन फिर्ता लिने घोषणा गरेका थिए । उनीहरूले नेतन्याहु आफ्नो बाचा पूरा गर्न असफल भएको आरोप लगाएका छन् ।

विवादको केन्द्रमा एउटा कानुन छ, जसले अति–कट्टरपन्थी समुदायलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने व्यवस्था गर्ने थियो । इजरायलमा अधिकांश नागरिकका लागि सैन्य सेवा अनिवार्य छ, तर यो समुदाय लामो समयदेखि विशेष छुटको माग गर्दै आएको छ । गठबन्धन सरकारले उक्त कानुन पारित गराउन नसकेपछि ती दलहरू असन्तुष्ट बनेका हुन् ।

यसैबिच विपक्षी दलहरू लामो समयदेखि नेतन्याहु सरकार हटाउने प्रयासमा थिए । गत जुनमा सरकार ढाल्ने प्रयास असफल भएको थियो, तर यसपटक संसद् विघटनले विपक्षीहरूलाई नयाँ ऊर्जा मिल्ने अनुमान गरिएको छ ।

अब के हुन्छ ?

संसद् विघटनसम्बन्धी विधेयक अब संसदीय समितिमा जानेछ, जहाँ चुनावको मिति तय गरिनेछ । त्यसपछि अन्तिम स्वीकृतिका लागि पुनः संसद्मा मतदान हुनेछ । अन्तिम मतदानमा १२० सदस्यीय संसद्मा कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । यो प्रक्रिया छिटो सम्पन्न हुन पनि सक्छ वा धेरै हप्तासम्म लम्बिन पनि सक्छ ।

के भन्छन् जनमत सर्वेक्षण ?

सन २०२२ मा पुनः सत्तामा फर्किएका नेतन्याहुले इतिहासकै सबैभन्दा दक्षिणपन्थी सरकार बनाएका थिए । तर सन २०२३ अक्टोबर ७ मा हमासले गरेको अप्रत्याशित आक्रमणपछि नेतन्याहुको सुरक्षा नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो । त्यसयता भएका सर्वेक्षणहरूले नेतन्याहुको गठबन्धन संसद्मा बहुमत ल्याउन असफल हुने संकेत गरिरहेका छन् । यद्यपि विश्लेषकहरूका अनुसार विपक्षी दलहरूलाई पनि स्पष्ट बहुमत जुटाउन संघर्ष हुनेछ । कुनै पक्षले बहुमत ल्याउन सकेन भने नेतन्याहु पुनः अन्तरिम प्रधानमन्त्रीका रूपमा कायम रहन सक्ने सम्भावना पनि छ । इजरायल यसअघि पनि यस्तै राजनीतिक गतिरोधबाट गुज्रिसकेको छ। सन २०१९ देखि २०२२ बीच देशले चार वर्षभन्दा कम अवधिमा पाँच पटक चुनाव गराएको थियो । 

कसले देला नेतन्याहुलाई चुनौती ?

नेतन्याहुको मुख्य प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मानिएका छन् । बेननेट नेतन्याहुकै पूर्वसहयोगी हुन् । सन २०२१ मा नेतन्याहुलाई सत्ताबाट हटाएर उनी स्वयं प्रधानमन्त्री बनेका थिए । यसपटक बेनेटले विपक्षी नेत यायर लापिडसँग मिलेर ‘टुगेदर’ नामक नयाँ राजनीतिक गठबन्धन बनाएका छन् । सर्वेक्षणहरूमा यो गठबन्धन नेतन्याहुको लिकुड पार्टीसँग कडा प्रतिस्पर्धामा देखिएको छ ।

त्यस्तै पूर्वसैनिक प्रमुख गादी आइजेनकोट पनि लोकप्रियता बढाइरहेका अर्काे सम्भावित उम्मेदवार मानिएका छन् । यी सबै नेतहरूले देशलाई विभाजनबाट बाहिर निकाल्ने, युद्धपछि अर्थतन्त्र सुधार गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने एजेन्डा अघि सारेका छन् । 

युद्ध र यसले अर्थतन्त्रमा पारेको असर

इजरायल पछिल्ला वर्षहरूमा लगातार द्वन्द्वमा फसेको छ । २०२३ को अक्टोबरयता गाजा क्षेत्रमा हमाससँग युद्ध जारी छ । हिजबुल्लाहसँग लेबनान सीमामा तनाव छ । उता, इरानसँग बढ्दो संघर्षले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमा असर परेको छ । विशेषगरी लामो युद्धका कारण लगानी, पर्यटन र व्यापारमा नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।

नेतन्याहुले लामो समयदेखि भ्रष्टाचारसम्बन्धी मुद्दाको सामना गरिरहेका छन् । उनीमाथि घुस, विश्वासघात र प्रभावको दुरुपयोगसम्बन्धी आरोप छन् । इजरायलका राष्ट्रपति आइज्याक हर्जाेगले हाल नेतन्याहुसँग सम्भावित सम्झौताका लागि मध्यस्थता गरिरहेको बताइएको छ । सम्भावित सम्झौताअन्तर्गत नेतन्याहुले राजनीतिबाट अवकाश लिन सक्ने चर्चा पनि भइरहेको छ । यद्यपि नेतन्याहुले यस्तो प्रस्ताव स्वीकार गर्ने वा नगर्ने स्पष्ट छैन  ।

७६ वर्षीय नेतन्याहुको स्वास्थ्य अवस्था पनि चुनावी बहसको विषय बनेको छ । उनले हालै आफू प्रोस्टेट क्यान्सरको सफलता उपचारपछि स्वस्थ भएको बताएका थिए । यसअघि सन २०२३ मा उनको मुटुमा पेसमेकर जडान गरिएको थियो । आगामी चुनाव केवल सत्ता परिवर्तनको प्रतिस्पर्धा मात्र नभई इजरायलको राजनीतिक भविष्य, सुरक्षा रणनीति र क्षेत्रीय नीतिको दिशा तय गर्ने महत्वपूर्ण मोड हुन सक्ने विश्लेषकहरूले बताइरहेका छन् । 

कमेन्टहरु